काठमाडौँ – नेपालमा बर्सेनि आत्महत्याको क्रम बढ्दो रहे पनि आम सर्वसाधारणले सीमित मानसिक स्वास्थ्य सहयोग पाउने अवस्था रहेको जनस्वास्थ्यकर्मीहरूले बताएका छन्।
डेढ वर्षअघि कोरोनाभाइरसको महामारी देखा परेयता विगतको तुलनामा उल्लेख्य रूपमा नेपालमा आत्महत्याका घटनाहरूमा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ।
सरकारी अधिकारीहरू भने राष्ट्रिय योजना बनाएर नै आत्महत्या नियन्त्रणको प्रयासमा आफूहरू लागिरहेको तर श्रोत र साधन अनि मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ चिकित्सक सहितको अभावले आफ्नो प्रयासमा अप्ठेरो निम्त्याइरहेको बताउँछन्।
विज्ञहरू आत्महत्या नियन्त्रणका लागि आर्थिक, सामाजिक र पारिवारिक कारणले निम्त्याउने मानसिक तनावहरू सम्बोधन गर्न सम्बद्ध सबै पक्षहरूले भूमिका खेल्नुपर्नेमा जोड दिन्छन्।
कस्तो सहयोग उपलब्ध छ ?
शिक्षण अस्पताल काठमाण्डूका मानसिक स्वास्थ्य शाखाका प्रमुख चिकित्सक प्राध्यापक डाक्टर सरोजप्रसाद ओझा विभिन्न अस्पताल र सङ्घ सस्थाहरूले ‘हट लाइन’ सेवा दिएपनि नेपालमा समग्रमा मानसिक स्वास्थ्य प्राथमिकतामा नपरेको क्षेत्र भएको बताउँछन्।
उनले भने, ‘हामीले देशको प्रधानमन्त्रीलाई नै भेटेर आत्महत्या रोकथाम तथा नियन्त्रणको एउटा राष्ट्रिय नीति ल्याउनुपर्छ, बढीभन्दा बढी हेल्पलाइनहरू स्थापना गर्नुपर्छ र मानिसहरूलाई बढी जनचेतना जगाउनुपर्छ भनेका थियौँ।’
‘आत्महत्याको सोच आउनु, मानसिक तनाव र डिप्रेसनको लक्षण देखिनुलाई अब मलाई मानसिक रोग लाग्यो र मैले जीवनभर औषधि खानुपर्छ, केही गर्न सक्दिन भन्ने ढङ्गबाट सोच्नुको साटो समयमा नै उपचार गरायो भने यसलाई हामी नियन्त्रण गर्न सक्छौँ भन्ने धारणा हामीले समाजमा स्थापित गर्नुपर्छ।’
उनले आत्महत्याको ‘नकारात्मक’ सोच आएको अवस्थामा विभिन्न हेल्पलाइनहरूमा सम्पर्क गरी आफ्ना सोचहरूलाई सकारात्मक बनाउनतर्फ लैजानुपर्ने उल्लेख गर्दै आवश्यक पर्दा औषधि र मनोपरामर्श सेवा दिएर निको बनाउन सकिने बताए।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको उल्लेख गर्दै ७७ प्रतिशत भन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा हुने उल्लेख गरेको छ।
मनोपरामर्शदाता के भन्छन्?
मनोसामाजिक परामर्शदाता जितेन राई आत्महत्यालाई मानसिक रोग भन्दा पनि पनि ‘कमजोर मन भएकाहरूले चाल्ने कदम’ भएको दृष्टिकोण समाजमा व्याप्त हुनु नेपालको सन्दर्भमा ठूलो समस्या रहेको बताउँछन्।
उनले भने, ‘आत्महत्या गर्न लागेको व्यक्तिलाई बुझ्ने र सहयोग गर्ने कुरा वा त्यस्तो जोखिम वा दुर्घटना हुनसक्छ भन्नेबारे बुझाइ कम छ। पछिल्लो समयमा चासोहरू बढे पनि श्रोत साधन र सेवाहरू पर्याप्त छैनन्।’
परिवार र साथीभाइ चनाखो भए आत्महत्या गर्ने व्यक्तिहरूलाई सुरुमा नै सहयोग दिने ठाउँहरूसम्म पुर्याउन सकिने राईले बताए ।
उनले मनोपरामर्श सेवाहरू काठमाण्डू वा सहर केन्द्रित मात्रै नभइ ग्रामीण भेगहरूसम्म पुर्याउनु उपयुक्त हुने बताए।
मानसिक स्वास्थ्य सम्बन्धी विज्ञ डाक्टर ओझा डिप्रेसन, चिन्ता र भय आत्महत्याको प्रमुख कारण रहेको उल्लेख गर्छन्।
उनले भने, ‘डिप्रेसन कडा खालको मानसिक रोग होइन। आफ्नो नजिकको मानिस गुमाएका कारण, आर्थिक विपन्नता र रोजगारी नभएका कारण मन उदास हुने, दिक्क बन्ने, काममा जाँगर नआउने र एकान्तमा बस्न मन लाग्ने जस्ता लक्षण देखिन्छन्। उदासीपन बढ्दै जाँदा निद्रा नलाग्ने, भोक नलाग्ने र अन्य कुरामा रुचि नहुने र बिस्तारै पारिवारिक, सामाजिक परिवेशबाट दुई हप्ता भन्दा बढी टाढा रहने भयो भने त्यो बेलामा चरम निराशाका कारण मानिसले आत्महत्या पनि गर्छ। त्यही भएर हामीले मद्दत गर्नुपर्छ।’
सरकार के भन्छ ?
इपिडिमिओलोजी तथा रोग नियन्त्रण शाखाका मानसिक स्वास्थ्य हेर्ने निकायका प्रमुख डाक्टर फणीन्द्र बराल स्वास्थ्य मन्त्रालयले सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत देशव्यापी रूपमा स्वास्थ्य जनशक्तिलाई तालिम दिएर मानसिक स्वास्थ्यबारे अभियान चलाइरहेको बताउँछन्।
उनले विभिन्न गैरसरकारी संस्थाका मनोपरामर्शदाताहरूसँग मिलेर सरकारले हाल सात वटै प्रदेशमा मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिइरहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकार रहँदा मानसिक स्वास्थ्य रणनीति २०७७ कार्यान्वयनमा आएको बताए।
त्यसमा ११ प्रकारका मानसिक स्वास्थ्य सम्बन्धी औषधिहरू निःशुल्क दिने, अशक्त सहित जेलमा बस्ने बन्दीहरूमा पनि मानसिक स्वास्थ्यको पहुँच पुर्याउने जस्ता विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।
कोरोनाभाइरसका कारण आत्महत्याको दर बढिरहेको प्रहरीले जनाएको छ ।
नेपालमा दिनमा १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ। नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले लकडाउनको अवधिमा दैनिक आत्महत्या गर्नेको सङ्ख्या बढेर १९-२० मा पुगेको बताए।
उक्त आँकडालाई भयावह बताउने डाक्टर बराल भन्छन्,’जुन तहको आवश्यकता छ त्यो स्तरमा अझै हामीले काम गर्न सकिरहेका छैनौँ। अहिलेसम्म हामीसँग जम्मा जम्मी ५० बेड भएको एउटा मानसिक अस्पताल केन्द्रमा छ। हामीले प्रत्येक प्रान्तीय अस्पतालहरूमा मनोचिकित्सक सहितको १० शय्याको संरचना विस्तार गर्ने निर्णय गरेका छौँ।’
डाक्टर बराल र डाक्टर ओझा दुवै मानसिक स्वास्थ्यका क्षेत्रमा अनुभवी चिकित्सक र अरू जनशक्तिको पनि अभाव रहेको बताउँछन्।
डाक्टर बरालका अनुसार देशभर लगभग २०० को हाराहारीमा मनोचिकित्सक रहे पनि सरकारी अस्पतालहरूमा जम्मा एक दर्जनले सेवा दिइरहेको र ठूलो सङ्ख्यामा दरबन्दीहरू थप्नुपर्ने अवस्था रहेको छ। बिबिसी