गृहमन्त्री अधिकारीसहित सचिव न्यौपाने र आईजी क्षत्रीको बैठक, केही दिनमा नै डिआईजीको सरुवा

अहिलेसम्मका सरुवा र बढुवा मेरिट नमिचि भएको न्यौपानेको जिकिर


काठमाडौं – गृहमन्त्री खगराज अधिकारी, सचिव महेश्वर न्यौपाने र नेपाल प्रहरीका महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्री सोमबार नायव महानिरिक्षक (डिआईजी) सरुवका विषयमा बैठकमा बसेका छन्।

साँझ गृह मन्त्रालयमा भएको बैठकमा ७ प्रदेशका प्रमुखका रुपमा रहेका डिआईजीलगायत केन्द्रीय अनुसन्धान ब्यूुरो (सिआईबी) र अन्य विभिन्न ईकाईमा सरुवाका लागि तयारी भएको छ।

केही दिनमा नै डिआईजी सरुवा गरी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) को सरुवा निकाल्ने तयारी भएको छ। आईजी क्षत्रीले प्रहरी प्रधान कार्यालयका तर्फबाट सरुवाका ब्रिफिङ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

शनिबार मात्र प्रहरी प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी मुख्यालय हलचोकको निरीक्षण गरेका गृहमन्त्री अधिकारी सक्रियताका साथ लागेका छन्। लामो समयसम्म हुन नसकेका सरुवा र बढुवाका लागि गृहमन्त्री अधिकारी आफैंले फायल मगाएका थिए।

यसैबीच सोमबारै गृहमन्त्री अधिकारीले केही पत्रकार तथा सम्पादकसँग सुरक्षा मामिलाका विषयमा परामर्श गरेका थिए। सो क्रममा प्रहरीको बढुवा र सरुवामा राम्रालाई भन्दा पनि हाम्रालाई रोज्ने प्रवित्ति रहेको जानकारी पाएपछि गृहसचिव न्यौपानेले एकाध बाहेक विगत तीन बर्षयता मेरिट नमिचिएको दाबी गरेका छन्।

‘हामीले मेरिट मिचेर काम गरेका छैनौं, प्रहरीमा कार्यदक्षताका हिसाबमा नै बढुवा र सरुवाको काम भइरहेका छन्,’ गृहसचिव न्यौपोले भने।

गृहमन्त्री नभएका कारण सरुवा हुन सकेको थिएन। गृहमन्त्री अधिकारीले सबै प्रक्रिया अघि बढ्ने बताउँदै आफूले एउटा सिपाहीसम्मको सरुवा प्रभाव र सिफारिसका आधारमा नगर्ने बताए।

यस क्रममा कतिपयको सिफारिस आउने गरेको बताएका उनले भने, ‘मैले मेरै जिल्लाका लागि पनि यसरी काम गर्दिन। त्यो संगठनमा जो अब्बल र राम्रो काम गर्न सक्दछ उसैलाई पठाउने यहाँका जानकार अधिकारीहरुले गर्ने हो।’

यो पनि पढ्नुहोस्

गृहमन्त्री नियुक्तिसँगै नेपाल प्रहरीका डिआईजी सरुवाको प्रक्रिया, कसको कहाँ सम्भावना?

प्रतिक्रिया