विहेपछि बर्बादीः नेपालमा बढ्यो ‘पोष्टम्यारिज अफेयर्स’
‘खाना थालमा खानुपर्छ, पानी धारामा पिउनुपर्छ तर सेक्स जहाँ भेट्यो त्यहिँ गर्नुपर्छ’ भन्ने अमेरिकन अभिनेता स्टिभ मार्टिनको भनाइको पछि लाग्ने हो भने पूर्वीय समाजका सम्बन्धहरू कुनै बाँकी रहँदैनन् ।
पश्चिमा विकसित समाजमा सम्बन्धहरू पानीका फोकाजस्ता हुनसक्छन् तर एसीया प्रशान्त क्षेत्रको समाजले त्यस्तो मान्दैन । यद्यपि, यौन सम्बन्धको आधारमा रहेर नै धेरै सम्बन्धहरू भत्किएका छन् नेपाली समाजमा ।
प्रविधिले भित्राएको सहज सम्पर्कमात्र होइन, सम्बन्धका विविध आयामका बारेमा आउन थालेका अनेक प्रकारका नयाँ खबरले नेपाल पनि आक्रान्त बन्न थालिसकेको छ । अहिले चर्चा छ– ‘पोष्टम्यारिज अफेयर्स’ ।
सहरी क्षेत्रमा व्याप्त रहेको विवाहपछिको वैकल्पिक शारिरीक सम्बन्ध दूरदराजमा अभ्यास हुने क्रम पनि बाक्लिएको छ । सहरमामात्र समस्याको विषय बनेको यस्तो घरायसी कलहको सम्बन्ध अहिले गाउँघरको पनि समस्या बनी देखा परेको छ । यस्तो सम्बन्धलाई पूर्वीय सांस्कृतिक भाषामा ‘नाजायज’ अथवा ‘अवैधानिक’ सम्बन्धका रुपमा व्याख्या गरिन्छ ।
घरमा पति या पत्नी हुँदाहुदै पनि बाहिर अन्यसँग सम्बन्ध राख्नुलाई ‘पोस्ट म्यारिज’ वा ‘एक्स्ट्रा म्यारिज’ अफेयर्सका रुपमा बुझिन्छ ।
समाजमा विकृतिका रुपमा फैलँदै गरेका यस्ता व्यवहारले वैवाहिक सम्बन्धमात्र तोडिएका छैनन् समाजिक र सांस्कृतिक मान्यता पनि ढल्न थालेका छन् । घरमा पति वा पत्नी हुँदाहुदै परस्त्री वा परपुरुषसँग सम्बन्ध जोडिँदै जादा पारिवारिक माया, स्नेह, विश्वास र सम्बन्धमा खोट पैदा भई रिस, असमझदारी हुँदै सम्बन्ध टुंगिन थालेका छन् ।
यसैको परिणाममा उच्च वर्गीय समाजले ‘डिभोर्स’को विकल्प रोज्ने गरेका छन् भने निम्न मध्यमवर्गीय समाजमा भने सामाजिक आक्षेप र कलंकसहित अपराधको चरणलाई पनि अँगाल्नु परेका भयानक उदाहरण छन् ।
पति–पत्नीको सम्बन्ध टुटेसँगै सामाजिक नातासँग जोडिएका अन्य आयाम पनि प्रभावित हुन्छन् । डबल अफेयर्सका रुपमा परिचित यस्ता सम्बन्धले परिवार र समाजमा विखण्डन मात्र गरेको छैन नाबालक सन्तानको सुखद भविष्यमा समेत असर पुगेको छ ।
यस्ता घटनाका केही उदाहरण छन्।
पत्नीले सँधैजसो झगडा गर्ने र राती सामाजिक सञ्जाल फेसबुक र प्राविधिक सूचनाको सरल साधन भाइबरमा लुकी–लुकी च्याट गर्न थालेपछि किर्तिपुरका एक युवा चिन्तित थिए । तीन वर्षको छोराको आमा समेत रहेकी पत्नी अर्कै केटासँग सम्बन्धमा रहेको अड्कल काटेका उनी भित्रभित्रै पीडित थिए । यहि प्रमाणित गर्नका लागि उनी एकदिन, आमालाई भेट्न हेटौंडा जान्छु भनेर घरबाट केही दिनका लागि निस्किए । यता, पत्नीलाई पति दुई चार दिन नआउने भएपछि झन् खुसी थपियो । तर ती युवा आमा भेट्न नगई आमालाई बीचबाटोमा बोलाएर आमाकै मोबाइलबाट पत्नीलाई फोन गरे ।
सासुको मोबाइलबाट फोन आएपछि पति हेटौडा पुगेकोमा ढुक्क भइन् युवती । पति भने किर्तिपुर आसपासका होटलमा बसेर पत्नीको चियोचर्चो गर्न थाले । प्रहरी महिला सेलमा समेत जानकारी गराएका पतिले पत्नी अर्कै केटासँग चोभारको एक गेष्ट हाउसमा पुगेको जानकारी पाए । प्रहरीले पत्नीलाई अर्कै केटासँग रङ्गेहात समात्यो । ३ वर्षदेखि अवैध सम्बन्धमा रमाउँदै आएकी ती युवतीलाई अन्ततः अर्कै केटासँग समातेपछि उनको शंका पुष्टि मात्र भएन उनीहरूको सम्बन्धमा नै पूर्णविराम लाग्यो ।
उनीहरू ‘डिभोर्स’को चरणमा पुगे । आमाबाबु छुट्टिएसँगै ३ वर्षे बालकको भविष्य अन्यौलमा परेको छ । ती पुरुषसँग ३ वर्षदेखि सम्पर्कमा रहेकी पत्नीको स्वार्थ यौन प्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुल्यो । प्रहरीका अनुसार ती छोरो लिएर माइत हिडेकी महिलामा कुनै पश्चाताप पनि थिएन ।
महोत्तरीको डाम्हीमडैंका एक युवक ३ वर्षको वैदेशिक रोजगारीपछि पत्नीसँग सुखद जीवन विताउने सपनामा घर फर्किए । आर्थिक बाध्यताले मलेशीया गएका सुरेश मुखियाकी पत्नी घर आएपछि मुस्किलले एक महिनासँगै बसिन् । विदेशबाट आएको एक महिना नबित्दै पत्नी तेतरीले पतिलाई मात्र छाडिनन् विदेशबाट कमाएर ल्याएको नगद र गरगहनासमेत लिएर अर्कै पुरुषसँग झागिएको सम्बन्धलाई पूर्णता दिन घर छाडेर हिडिन् ।
उल्टै ससुराली पक्षले तेतरीलाई वेपत्ता पारेको भन्दै तनाव दिन थालेका छन् । विवाह भएको एक वर्षपछि परिवारलाई सुख दिने र बहिनीको विवाह गर्ने पैसा कमाउन भन्दै मलेसिया गएका थिए ।
काभ्रेपलाञ्चोक महादेवस्थानमा ३ वर्षदेखि लिभिङटुगेदरमा बस्दै आएकी प्रेमिकालाई हत्या गरेको अभियोगमा प्रहरीले २८ वर्षिय श्याम श्रेष्ठलाई पक्राउ गरेको थियो। प्रेमिका हत्यापछि फरार रहेका श्रेष्ठलाई प्रहरीले दाङको लमहीबाट पक्राउ गरेको थियो । नुवाकोट रातोमाटे–१ महादेवस्थान की १८ वर्षिय अन्जना थापाको हत्या गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठ ३ वर्षदेखि उनीसँग लिभिङटुगेदरमा थिए । युवतीले विवाहको दबाब दिन थालेपछि सुरु भएको झगडा र मनमुटावमा आक्रोशित भएका श्रेष्ठले कुटपिट गरी गत वैशाख २१ गते युवतीको हत्या गरेका थिए । कक्षा १० मा नुवाकोटको विद्यालयमा पढ्दै गरेकी थापा र त्यही सवारी चालकका रुपमा काम गर्ने क्रममा श्रेष्ठसँग भेटघाट भएपछि उनीहरूबीच सम्बन्ध बढेको थियो । विवाहित श्रेष्ठले ढाटेर थापालाई विगत तीन वर्षदेखि भक्तपुरमा ल्याएर राखेका थिए । ५ वर्षको छोराका बाबु समेत रहेका श्रेष्ठले युवतीलाई विवाह गर्ने प्रलोभन दिदै आएको प्रहरीसमक्ष स्वीकारेका थिए ।
यी प्रनितिधि घटना मात्र हुन्। बिहे गरेपछिका कतिपय सम्बन्ध र दबाबपूर्ण सम्बन्ध राजनीतिज्ञ र प्रहरीका समेत रहेका विवरण पछिल्ला चरणमा मिडियामा आएका थिए।
दाम्पत्य जीवन सहज नभएमा उनीहरू सम्बन्धविच्छेद गरेर समाजमा आफ्नो छुट्टै परिचय बनाउन चाहन्छन् । जसले गर्दा विवाहपछिको सम्बन्ध कमजोर बन्दै जान्छ र अन्ततः सम्बन्धले नयाँ बाटोको खोजी गर्छ
विवाहपछि हुने गरेका यस्ता घटना सुरुमा रहर वा आकर्षण र यौन सुखका लागि हुने गरेको देखिन्छ । विस्तारै बढ्दै जाने यस्ता गोप्य सम्बन्धले परिवार, सन्तानको भविष्य, धनसम्पत्तीको नोक्सानी र मान प्रतिष्ठामा आँच मात्र नभइ अपराधको बाटोमा पनि धकेलिन बाध्य पारेका प्रशस्त उदाहरण छन्।
मनोविज्ञ प्राध्यापक गंगा पाठकका अनुसार आफ्नो सम्बन्धमा खुसी हुन सक्नुपर्छ । उनी भन्छन्,‘एक अर्काबीच खुसी हुन नसक्दा यस्ता आपराधिक घटना बढ्न थालेका छन् । पति वा पत्नीलाई अर्काका पति पत्नीसँग तुलना गरिँदा वैवाहिक जीवन तहसनहस हुने आधार खडा हुन सक्छन् ।’
पति पत्नीको सम्बन्धको बलियो आधार नै एक अर्काप्रतिको माया र विश्वास हो । सम्बन्धलाई सही तरिकाले व्यवस्थापन गर्न नसक्दा वैवाहिक सम्बन्ध कल्पना गरेजस्तो आदर्श नहुन सक्छ । एकअर्काबीच सम्मानपूर्ण र मायालु व्यवहार, पारिवारिक मेलमिलापजस्ता विषयमा असमझदारी आए दम्पत्ती सम्बन्धमा तेस्रो व्यक्तिको उपस्थिती सहज हुने विज्ञहरूको बुझाई छ ।
विवाह एक पवित्र बन्धन मात्र नभइ जन्मान्तरसम्म सँगै हिड्ने एक विश्वासिलो र भरपर्दो सम्बन्धका रुपमा पूर्वीय समाजले व्याख्या गर्दै आएको छ । यही सम्बन्धमा तेस्रोलाई प्रवेश दिँदा
नयाँ पुस्ता र महत्वकांक्षा
आधुनिक समाज र विकसित मानसिकताका कारण पनि कतिपय सम्बन्धमा नयाँ व्यक्तिको प्रवेश हुन्छ । आफ्नो निर्णय आफै गर्नु पर्ने र युवा युवतीमा हुने उच्च महत्वकांक्षाका कारण पनि पछिल्लो पुस्ताका युवा युवतीबीचको सम्बन्ध प्रगाढ हुन सकिरहेको छैन ।
आफ्ना इच्छा आकांक्षामा कोही एक बाधक महशुस गरिए स्वतन्त्रताका नाममा सम्बन्धले फरक बाटो लिने गरेको छ । अहिलेका केही युवायुवतीमा गरिएको प्रारम्भिक सर्वेक्षणले सम्बन्ध विच्छेदलाई हाउगुजी मान्न नहुने र भविष्यका लागि सम्बन्ध बाधक भए सम्बन्धलाई तोड्नुपर्ने तर्क राख्नेको जमात बलियो बन्दै गएको छ ।
विचारको विभेद, एक–अर्काप्रतिको अविश्वास र असन्तुष्टिले सुमधुर सम्बन्ध नहुने हुँदा पति–पत्नी छुट्टिएकै राम्रो हुन्छ भन्नेको जमात बढेको छ ।
पति–पत्नीको आ–आफ्नै पहिचान आफ्नै यथेष्ट कमाइ र बेग्लाबेग्लै सामाजिक प्रतिष्ठा हुन थालेपछि घरभित्रको सम्बन्ध भन्दा बाहिरको सम्बन्धले बढि महत्व पाउँदा पारिवारिक सम्बन्ध विग्रने गरेको छ ।
आफ्नो पहिचान र अधिकारको खोजीमा लागिरहेका आजकलका बौद्धिक तथा शिक्षित दम्पतीले भने असमझदारी र असहिष्णुताको अन्तिम रुप नै सम्बन्ध विच्छेद भएको बताउनुले पनि यसलाई पुष्टि गरेको छ । निरशपूर्ण सम्बन्ध कायम राख्नुभन्दा सम्बन्धविच्छेद नै उपयुक्त हुने भन्दै आजभोलि प्रतिष्ठित व्यक्तिहरूको सम्बन्ध टुक्रिएका समाचार र विवरणले पनि समाजमा नराम्रो प्रभाव पार्ने गरेको छ।
जोखिममा लभ-म्यारिज
आफैं रोजेर विवाह गरेका जोडी आफैं सक्षम हुने भएकाले व्यक्तिगत स्वतन्त्रता खोज्ने गर्छन् । आफू जति सक्षम भयो त्यति नै आफ्नो स्वतन्त्रता चाहने भएकाले परिवारिक दबाब, हिंसा सहेर बस्न सक्दैनन् र चाहदैनन् पनि ।
दाम्पत्य जीवन सहज नभएमा उनीहरू सम्बन्धविच्छेद गरेर समाजमा आफ्नो छुट्टै परिचय बनाउन चाहन्छन् । जसले गर्दा विवाहपछिको सम्बन्ध कमजोर बन्दै जान्छ र अन्ततः सम्बन्धले नयाँ बाटोको खोजी गर्छ ।
समाजलाई खुलातन्त्रको नाममा नियन्त्रणभन्दा बाहिर नधकेल्न पनि दिगो सम्बन्धका लागि हरेकले गम्भिर हुनु पर्ने देखिन्छ । अग्रगमनका नाममा पोस्ट म्यारिज रिलेसन र डबल अफेयर्समा मान्छेहरू अगाडि बढिरहँदा अनुशासित सभ्य समाजको मान्यता भत्किन थालेको छ । यौन र स्वतन्त्रताका नाममा सम्बन्धहरू टुक्रिने क्रम बढिरहने हो भने अपराध र हिंसाका घटनाले समाज आक्रान्त हुने प्रष्ट छ । यसका लागि किशोरकिशोरी अवस्थामै सम्बन्धको महत्वका बारेमा काउन्सिलिङ आवश्यक छ ।
नयाँ कानुन
देवानी कानुनमा पत्नीले परपुरुषसँग वा पतिले परस्त्रीसँग यौन सम्बन्ध राखे पति पत्नीबीच सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, पतिले पत्नीसँग जवरजस्ती करणी गरेमा समेत पत्नीले पतिसँग सम्बन्धविच्ेछद गर्नसक्ने प्रावधान देवानी कानुनमा उल्लेख छ। पतिले जाँड रक्सीको मातमा पत्नीलाई दुख दिने र पत्नीकोे इच्छा नहुँदा नहुँदै पनि जबर्जस्ती यौन सम्पर्क गर्ने गरेका घटना बाहिर धेरै आउने गरेपछि त्यस्तो प्रावधानको व्यवस्था गरिएको सांसदहरूको तर्क थियो।
सम्बन्ध विच्छेदसम्बन्धी सो व्यवस्थामा पतिले पत्नीको मञ्जुरीबिना पनि सम्बन्ध विच्छेद गर्नसक्ने चारवटा कारण उल्लेख गरिएको छ भने पत्नीका लागि सम्बन्ध विच्छेद गर्नसक्ने ६ वटा व्यवस्था प्रस्तावित छन् ।
पतिले तीन वर्षसम्म पत्नीसँग अलग बसेमा, पतिको अङ्गभङ्ग हुनेगरी कष्ट दिएमा वा जाल प्रपञ्च गरेमा तथा पत्नीले परपुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्नसक्ने छ ।
सोहीअनुसार, पत्नीले पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था गरिएको छ । जसमा पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष अलग बसेमा, पतिले खान लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, शारीरिक मानसिक यातना वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य स्त्रीसँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पत्नीले पतिसँग सम्बन्ध विच्छेद गर्न चाहदा गर्न सक्ने व्यवस्था छ।
सम्बन्ध विच्छेदसम्बन्धी सो व्यवस्थाले पतिपत्नीबीच राजीखुसीले कानुनी व्यवस्थाअनुसार सम्बन्ध विच्छेद गर्न तयार भएमा सोअघि अंशवण्डा गर्नुपर्ने व्यवस्था छ। सम्बन्ध विच्छेदका लागि प्रक्रियामा गएपछि अदालतले पहिलो चरणमा दुवैबीच मेलमिलापको प्रयास गर्ने, मेलमिलाप नभएमा कानुन बमोजिम हुने व्यवस्था गरिएको छ ।