

केवल ४ घण्टामै कसरी पूरा हुन्छ केही मानिसहरूको निद्रा ? वैज्ञानिकहरूले बताए कारण

केही मानिसहरूलाई केवल चार घण्टा सुत्दा पनि पर्याप्त आराम मिल्ने रहस्य वैज्ञानिकहरूले पत्ता लगाएका छन्। वैज्ञानिकहरूले मानव शरीरमा एउटा नयाँ जीन म्युटेसनको खोज गरेका छन् जसले केही व्यक्तिहरूलाई अन्य मानिसहरूभन्दा आधा समय सुत्दा पनि ऊर्जाशील बनाइराख्न सक्षम बनाउँछ। उक्त अध्ययन अमेरिकी विज्ञान जर्नल PNAS मा प्रकाशित गरिएको हो।
शोधकर्ताहरूले सुरुवातमा इनब्रेड मुसामा निद्राबाट वञ्चित भएको अवस्थाको अध्ययन गरे। त्यही क्रममा उनीहरूले SIK3-N783Y नामक एक जीन म्युटेसनको पहिचान गरे जुन कम निद्रामै पूर्ण विश्रामको अनुभव गराउने गुणसंग सम्बन्धित छ।
पछिल्लो अनुसन्धानमा वैज्ञानिकहरूले मानिसहरूमा पनि सोही म्युटेसन भेटिएको बताएका छन्। यसले पुष्टि गर्छ कि केही “सुपर स्लीपर” व्यक्तिहरू चार घण्टा सुत्दा पनि अरूजस्तै ताजा महसुस गर्न सक्छन्।
क्यालिफोर्निया विश्वविद्यालय, सान फ्रान्सिस्कोका न्यूरोसाइंटिस्ट तथा अनुवंशिक विज्ञ यिङ-हुई फूका अनुसार, जब हामी सुत्छौं, हाम्रो शरीरले विषाक्त पदार्थहरू हटाउने, क्षतिग्रस्त कोषहरूको मर्मत गर्ने जस्ता महत्वपूर्ण कार्यहरू गरिराखेको हुन्छ। तर प्राकृतिक रूपमा कम सुत्ने मानिसहरूको शरीरले यी सबै कार्यहरू अझ उच्च स्तरमा गर्ने क्षमता राख्छ।
वैज्ञानिकहरू आशावादी छन् कि यस्ता कम निद्रामा पनि फस्टाउने मानिसहरूको अनुवंशिक संरचनाको अध्ययनबाट निद्रासम्बन्धी रोगहरूको राम्रो उपचार पत्ता लगाउन सकिनेछ।
अधिकांश व्यक्तिका लागि ७–९ घण्टा अनिवार्य
हालैको अध्ययनले देखाएको छ कि पर्याप्त निद्रा नलिनु सुस्ती, स्मरणशक्तिमा कमजोरी, र मुटुका समस्याजस्ता जोखिमहरू ल्याउन सक्छ। अधिकांश वयस्कहरूले प्रत्येक रात ७ देखि ९ घण्टासम्म निद्रा लिन आवश्यक हुन्छ। यद्यपि, दुर्लभ अनुवंशिक गुण भएका मानिसहरू कम निद्रामा पनि पूर्ण तन्दुरुस्ती अनुभव गर्न सक्छन्।

