सभापति छाड्नुपरे देउवाले महाधिवेशनमा यस्तो बनाउन सक्छन् समीकरण

कोइराला परिवारले यसपटक पौडेललाई सभापतिमा स्वीकार गर्ने सम्भावना कमजोर


काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा फेरि सभापतिमा निर्वाचित हुने शेरबहादुर देउवाको चाहना छ। उनी त्यसैका लागि कसरत गरिरहेका छन्।

कांग्रेस भित्र र बाहिर पनि पुनः देउवा सभापति बन्ने र प्रधानमन्त्री समेत बन्ने आँकलन गरिँदै आएको छ। तर पार्टी र त्यसमा पनि समूहभित्र देउवालाई आफ्नो चाहना पूरा गर्नका लागि केही झन्झटिला सर्त छन् भने समस्या पनि देखा पर्नेछन्।

देउवाका लागि सबैभन्दा ठूलो समस्या भनेको उपसभापति विमलेन्द्र निधिको सर्त हो। निधि सभापति पदका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन्। यद्यपि देउवालाई छाड्न परेको खण्डमा उनको सर्त छ– विश्वप्रकाश शर्मा र गगन थापा पदाधिकारीमा आउनु भएन।

पहिलो त टिकट नै पाउन भएन दोस्रो पाई हालेको खण्डमा पनि पराजित हुनुपर्छ। त्यसो हुँदा १४ औंमा देउवालाई छाडे १५ औं महाधिवेशनले सभापति बन्ने निधिको धोको छ।

तर के यो सम्भव होला?

देउवाले कांग्रेसका ‘नामी’ युवा नेतालाई नेतृत्वको बाटोमा छेक्न सक्ने सम्भावना कम छ। ‘भाइटल’ रोलका लागि शर्मा र थापा तयार छन्। शर्मा महामन्त्री या सह–महामन्त्रीमा निर्वाचित हुने अभ्यासमा छन् भने थापा महामन्त्री नै बन्ने तर कुनै समीकरणमा नपरे सभापतिमा नै उम्मेदवारी दिने तयारीमा छन्।

‘कुरो जित हारको भन्दा पनि कांग्रेसमा नयाँ पुस्ताको सवाल उठाइरहेका शर्मा र थापाले भाइटल रोल लिनेछन्। त्यसका लागि सभापतिज्युले रोक्न सक्ने ठाउँ छैन’, एक केन्द्रीय सदस्य भन्छन्,‘विधानले दिएको अधिकार र नेतृत्वमा नयाँ पुस्ताले हस्तक्षेप गर्ने बहस त चलिरहेकै छ।’

देउवा आफैं या निधिको सहयोगमा उत्रिए पनि यस पटक कोइराला परिवार आक्रामक रुपमा महाधिवेशनमा सहभागी हुनेछन्। कांग्रेसको विरासतलाई बलियो बनाउनका लागि पर्दाअगाडि देखिएका शेखर, शशांक र सुजाता कोइरालाको एउटा समूह बन्नेछ

देउवा आफू सभापति हुने अवस्था नआउने र युवा पुस्तालाई रोक्न नसक्ने अवस्थामा पत्नी आरजु राणा देउवालाई अघि सार्ने तयारीमा छन्। निधिलाई सभापतिमा देउवाको समर्थन रहँदा आरजुलाई उपसभापति तथा प्रधानमन्त्री बन्नेसम्मको बाटो खुलाउने तयारीमा देउवाको रणनीति बन्ने बताइन्छ।

‘कांग्रेसमा सभापति नभए पनि आफ्नो पकड र सरकारमा पनि आफू नै हावी हुने तयारी गर्नेछन्। यसले आरजुको पहिलो महिला प्रधानमन्त्री बन्ने सपनाको बाटो पनि खुलाउनेछ’, कांग्रेस उच्च स्रोतले भन्यो,‘यस्तो समीकरण र रणनीतिलाई अहिले मानिसले खासै नपत्याउलान् तर असम्भव भने छैन। यो विकल्पमा पनि बहस चल्नेछ।’

देउवा आफैं या निधिको सहयोगमा उत्रिए पनि यस पटक कोइराला परिवार आक्रामक रुपमा महाधिवेशनमा सहभागी हुनेछन्। कांग्रेसको विरासतलाई बलियो बनाउनका लागि पर्दाअगाडि देखिएका शेखर, शशांक र सुजाता कोइरालाको एउटा समूह बन्नेछ। सकभर हस्तक्षेप गर्न सक्ने युवा पुस्तालाई पनि ठाउँ दिएर अगाडि बढ्ने रणनीतिमा कोइराला परिवार छ।

त्यस परिवारका तर्फबाट सभापतिमा शेखर कोइरालाको दाबी रहेको छ। उनी परिवारका अन्य भन्दा ज्येष्ठ रहेका कारण पनि सहमति खोज्ने प्रयत्न हुनेछ। त्यसैले शेखर अहिले जिल्लाव्यापी कार्यक्रममा अग्रसर भइरहेका छन्।

महाधिवेशनबाट नेतृत्वमा आउनका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कम अभ्यास गरेका छैनन्। तर महाधिवेशनको समयमा पौडेलको व्यवस्थापनको जिम्मा समेत देउवाले लिन सक्ने अनुमान गरिएको छ। किनभने यसपटक पौडेललाई कोइराला कित्ताले सभापतिमा स्वीकार गर्ने कुनै छाँट देखाएको छैन।

प्रतिक्रिया