दैनिक प्रयोगका कस्मेटिकमै विषालु सिसा !


काठमाडौं – नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन तथा व्यक्तिगत सरसफाइका सामग्रीमै जनस्वास्थ्यका लागि अत्यन्त घातक मानिने सिसा (लिड) अत्यधिक मात्रामा भेटिएको एक अध्ययनले गम्भीर खतरा उजागर गरेको छ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड) ले गरेको पछिल्लो अध्ययनले सिन्दूर, टुथपेस्ट र गाजलजस्ता सामग्रीमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी लिड फेला परेको देखाएको हो। यसले उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको विज्ञहरूको भनाइ छ।

‘लिड एक्सपोजर एलिमिनेसन प्रोजेक्ट अमेरिका’को प्राविधिक तथा आर्थिक सहयोगमा गरिएको यो अध्ययन काठमाडौं, पोखरा, विराटनगर र जनकपुरका खुद्रा पसलमा बिक्री भइरहेका उत्पादनमा केन्द्रित थियो। सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्म संकलन गरिएका १०० नमुनामध्ये ३१ प्रतिशतमा लिड भेटिनुले बजारमा उपलब्ध धेरै सामग्री सुरक्षित नरहेको स्पष्ट संकेत गरेको छ।

‘एटोमिक एब्जोर्प्सन स्पेक्ट्रोस्कोपी’ (एएएस) विधिबाट गरिएको परीक्षणमा लिड भेटिएका नमुनामध्ये ८७ प्रतिशतले युरोपियन युनियनले तोकेको ०.५ पीपीएम र ७७ प्रतिशतले अमेरिका तथा क्यानडाले निर्धारण गरेको १ पीपीएमको सीमा नाघेका छन्। अझ चिन्ताजनक कुरा के छ भने नेपालमै स्वेच्छिक रूपमा तोकिएको १० पीपीएमको मापदण्डसमेत ५१ प्रतिशत नमुनाले उल्लङ्घन गरेका छन्।

उत्पादनअनुसार विश्लेषण गर्दा सिन्दूर सबैभन्दा जोखिमयुक्त देखिएको छ। विवाहित महिलाले नियमित रूपमा प्रयोग गर्ने सिन्दूरका ४० प्रतिशत नमुनामा लिड भेटिएको छ भने केही नमुनामा १२४ पीपीएमसम्म लिड पाइएको अध्ययनले देखाएको छ। बालबालिकाका लागि भनेर बजारमा उपलब्ध केही टुथपेस्टमा समेत लिड भेटिनु बालस्वास्थ्यका लागि थप चिन्ताको विषय बनेको छ। गाजलमा लिडको मात्रा तुलनात्मक रूपमा कम भए पनि आँखामा प्रत्यक्ष प्रयोग हुने भएकाले यसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने अध्ययनले औंल्याएको छ।

भौगोलिक विश्लेषण गर्दा काठमाडौं उपत्यकामा सबैभन्दा बढी ४२.५ प्रतिशत नमुनामा लिड भेटिएको छ। ‘हर्बल’ वा ‘प्राकृतिक’ भनेर प्रचार गरिएका उत्पादनहरू समेत लिडमुक्त नदेखिनुले बजारमा गरिने दाबी र वास्तविकता बीचको गहिरो अन्तर उजागर गरेको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार लिडको दीर्घकालीन असर अत्यन्तै गम्भीर हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मानव शरीरका लागि लिडको कुनै पनि मात्रा सुरक्षित नहुने स्पष्ट गरिसकेको छ। लिडको सम्पर्कले बालबालिकाको बौद्धिक विकासमा अवरोध पुर्‍याउने, व्यवहारमा आक्रामकता बढाउने, सिकाइ क्षमता घटाउने र स्नायु प्रणालीमा स्थायी क्षति पुग्ने जोखिम रहने बताइएको छ।

प्रतिक्रिया