
वीर अस्पतालका लेखा अधिकृत राईविरुद्ध उजुरीको चाङ
मन्त्रालयदेखि सतर्कता केन्द्रसम्मले मागे रायप्रतिक्रिया
काठमाडौं – भ्रष्टाचार र अनियमिततालाई लिएर पटक–पटक विवादमा आइरहने वीर अस्पतालका लेखा अधिकृत वीरसिंह राईमाथि गम्भीर आरोपसहितको उजुरी परेको छ ।
‘जस्टिस फर वीर अस्पताल’ का नामबाट लेखा अधिकृत राईविरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयलगायतका निकायहरुमा उजुरी परेको हो ।
उजुरीमा उल्लेख भएअनुसार वीर अस्पतालमा लेखा अधिकृतका रुपमा कार्यरत राईले अस्पतालमा खरिद गरिने उपकरण, औषधीहरुमा व्यापारीहरुसँग ५ प्रतिशतका दरले कमिसन माग्ने गरेका छन् । त्यसका साथै उनले करारका कर्मचारी भर्नाका लागि २५ हजार माग्ने, घुस नदिने कर्मचारीविरुद्ध आफूले नै उजुरी हाली तलब रोक्ने जस्ता कार्य गरेको आरोप लागेको छ ।
उजुरीमा उनले नवनिर्मित आकस्मिक कक्षको भुक्तानीमा २७ लाख ५० हजार कमिसन मागेको पनि उल्लेख गरिएको छ । त्यस्तै उनले विभिन्न निकायहरुमा घुस खुवाउनुपर्छ भन्दै ‘नजराना’ उठाउने गरेको समेत आरोप लागेको छ ।
राईविरुद्ध उजुरी परेपछि स्वास्थ्य मन्त्रालयले महालेखा र वीर अस्पताललाई स्पष्टीकरण सोधेको छ भने सतर्कता केन्द्रले पनि राई संलग्न रहेका अनियमितता भएका फाइलहरुका बारेमा जानकारी मागेको छ ।
राईविरुद्ध अख्तियारले पनि छानबिन सुरु गरिसकेको स्रोतले जनाएको छ । पछिल्लोपटक राष्ट्रिय सतर्कता केन्द्रको टोलीले वीरअस्पताल गई अस्पतालका निर्देशक, प्रशासन प्रमुख, न्याम्स निमित्त पदाधिकारीलगायसँग उजुरीमा उल्लेख गरिएको कागजपत्र माग गरेको छ ।



कागजपत्र |
