न्यूनतम तलबको माग गर्दै गण्डकी मेडिकल कलेजका पारामेडिक्स आन्दोलनमा


पोखरा-  पोखरास्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालका विभिन्न विभागमा कार्यरत पारामेडिक्स सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन माग गर्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन्।

आन्दोलनरत स्वास्थ्यकर्मीहरूले अस्पतालको आकस्मिक सेवा र सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत बिरामीको सेवा भने प्रभावित नपारिएको बताएका छन्।

अस्पतालकी मेडिकल टेक्नोलोजिस्ट शान्ति केसीका अनुसार न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै स्वास्थ्यकर्मीहरूले यसअघि पटक–पटक अस्पताल प्रशासनलाई लिखित रूपमा आग्रह गरेका थिए। तर लामो समयसम्म पनि मागको सुनुवाइ नभएपछि आन्दोलनमा जान बाध्य भएको उनले बताइन्।

गत वर्ष नर्सहरूको आन्दोलनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा पारामेडिक्सलाई नेपाल सरकारको पाँचौँ तह सरह सेवा–सुविधा उपलब्ध गराउन परिपत्र जारी गरेको थियो। आन्दोलनरत स्वास्थ्यकर्मीहरूको भनाइमा उक्त निर्णयअनुसार नर्सहरूको तलब समायोजन भए पनि पारामेडिक्सको पारिश्रमिक भने यथावत् राखिएको छ।

अस्पतालकी फार्मासिस्ट सपना बरालले सरकारले निर्धारण गरेको न्यूनतम मासिक तलब ३४ हजार ७३० रुपैयाँ भए पनि आफूहरूले १९ हजार ३०० रुपैयाँ मात्र पाउँदै आएको बताइन्।

आन्दोलनमा प्रयोगशाला, डेन्टल, फार्मेसी, फिजियोथेरापी, रेडियोलोजी, सिएमएलगायत विभागका स्वास्थ्यकर्मी सहभागी छन्। आन्दोलनरत पक्षका अनुसार अस्पतालमा यस्ता विभागमा करिब १५० जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् र अधिकांश आन्दोलनमा सहभागी भएका छन्।

 

प्रतिक्रिया