
अश्लील तस्बिर फैलाएर चरित्र हत्या गरेको आरोपमा डडेल्धुराका युवकविरुद्ध मुद्दा
डडेल्धुरा- एक युवतीको अश्लील तस्बिर सामाजिक सञ्जालमार्फत फैलाएर चरित्र हत्या गरेको अभियोगमा डडेल्धुराका एक युवकविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–२ घर भएका २२ वर्षीय हरिशप्रसाद भट्टविरुद्ध जिल्ला सरकारी वकील कार्यालयले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको हो।
माघ १२ गते दायर अभियोगपत्र अनुसार भट्ट र पीडित युवतीबीच फेसबुकमार्फत चिनजान भएको थियो। त्यसपछि उनीहरूबीच प्रेम सम्बन्ध विकास भएको र विवाह गर्ने आश्वासन दिँदै भट्टले युवतीका अश्लील तस्बिरहरू आफ्नो मोबाइलमा खिचेर राखेको अभियोगमा उल्लेख छ।
पछि युवतीको विवाह अर्कै व्यक्तिसँग तय भएको जानकारी पाएपछि भट्टले प्रतिशोध साध्ने उद्देश्यले ‘सम्झना जोशी’ (परिवर्तित नाम) नामक नक्कली फेसबुक आईडी प्रयोग गरी ती अश्लील तस्बिरहरू युवतीका आफन्तहरूलाई पठाएको अभियोग लगाइएको छ। साथै ती तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप पनि उनीमाथि छ।
पीडितले दिएको जाहेरीका आधारमा गरिएको अनुसन्धानबाट भट्टले मेसेन्जरमार्फत तस्बिरहरू पठाई युवतीलाई मानसिक तनाव दिएको र ‘विवाह गरेमा बर्बाद गरिदिने’ भन्दै धम्कीसमेत दिएको खुलेको सरकारी वकील कार्यालयले जनाएको छ।
सरकारी वकील कार्यालयले भट्टविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सजायको माग गरेको छ। उक्त दफाअनुसार दोषी ठहरिएमा एक लाख रुपैयाँसम्म जरिबाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
त्यसैगरी पीडितलाई भएको क्षतिबापत क्षतिपूर्ति उपलब्ध गराउन र अपराध पीडित संरक्षण कोषमा रकम जम्मा गराउनसमेत मागदाबी लिइएको छ।
हाल प्रतिवादी हरिशप्रसाद भट्ट फरार रहेका छन्। अदालतले उनलाई म्याद जारी गरी उपस्थित गराउन तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको छ। यद्यपि भट्टमाथि लगाइएका आरोपहरू अदालतबाट प्रमाणित हुन भने बाँकी नै छन्।



कागजपत्र |
