
रास्वपा केन्द्रीय कार्यालय अगाडि प्रदर्शन
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कलैया उपमहानगरपालिका नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद चर्किएको छ। विवादित निर्णयविरुद्ध आइतबार कलैयाका कार्यकर्ताहरूले काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना तथा प्रदर्शन गरेका छन्।
आन्दोलनरत कार्यकर्ताहरूका अनुसार नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मतसहित सभापतिमा निर्वाचित भएका थिए। निर्वाचन सम्पन्न भई विजयी उम्मेदवार तथा अन्य पदाधिकारीहरूको शपथ ग्रहणसमेत भइसकेको अवस्थामा पुनः निर्वाचन गराउने सूचना जारी भएपछि विवाद उत्पन्न भएको हो।
कार्यकर्ताहरूले मधेश प्रदेश समितिले ‘५० प्रतिशत प्लस १ बहुमत नपुगेको’ आधार देखाउँदै पुनः निर्वाचनको सूचना सार्वजनिक गरेको दाबी गरेका छन्। उनीहरूको भनाइमा यस्तो निर्णय पार्टीको विधान, लोकतान्त्रिक अभ्यास र निर्वाचन प्रक्रियाको मर्मविपरीत छ।
प्रदर्शनकारीहरूले एकपटक निर्वाचन सम्पन्न भएर विजयी घोषणा भइसकेपछि पुनः निर्वाचन गराउने निर्णय स्वीकार्य नहुने बताएका छन्। साथै निर्वाचन रद्द तथा पुनः मतदानसम्बन्धी सूचना कुनै आधिकारिक लेटरहेड वा जिम्मेवार पदाधिकारीको हस्ताक्षरबिनै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन्।
उनीहरूले पार्टी नेतृत्वसँग घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न, निष्पक्ष छानबिन गर्न तथा विधानसम्मत निर्णय गर्न माग गरेका छन्। साथै पार्टीभित्र सञ्चालन भइरहेका अधिवेशन तथा निर्वाचन प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका छन्।



कागजपत्र |
