नागढुङ्गा नाकाको दुखः ओभरटेकको होड, भूतघरको मोड


काठमाडौं– माथिको तस्बिर काठमाडौं उपत्यका प्रवेश गर्ने नागढुङ्गा उकालो हो। पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गर्ने नागढुङ्गामा दिनहुँ घण्टौंसम्म सडक जाम हुने गर्छ। कारण अव्यवस्थित पार्किङ, ओभर स्पिड, ओभरटेक, दुर्घटना र सडकको स्थिति।

धेरै ठाउँमा दुईवटा गाडी राम्रोसँग पास हुने सडक छैन। त्यतिमात्र होइन बीच सडकमै मालवाहक गाडीहरु बिग्रिन्छ। ओभरटेक र ओभर स्पिडको कारण दुर्घटना भइदिन्छ। यी पाँच कारणले गर्दा सर्वसाधरणहरुले सास्ती पाउने गरेका छन्।

साँघुरो सडकमा ‘ओभरटेक’को कारण धेरै जाम हुने गरेको महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख प्रहरी नायब निरिक्षक जे जङ कार्कीले बताए। ट्राफिक प्रहरी देख्यो भने राम्रैसँग चलाउँछन् नभए मनलाग्दी तरिकाले गाडीहरु चल्ने गरेको कार्कीको भनाइ छ।

‘हरेक ठाउँमा ट्राफिक प्रहरी हुँदैनन् र पुग्न पनि सकिँदैन,’ प्रमुख कार्कीले भने, ‘ट्राफिक प्रहरी नदेखेपछि साँघुरो बाटोमा समेत चालकहरु ओभरटेक गर्न खोज्छन्। त्यसपछि गाडी राम्रोसँग पास हुन पाउँदैन, अनि जाम सुरु हुन्छ।’

भुत घरको मोड, चिसापानी मोड र नागमन्दिर मोडमा २ वटा ठूला गाडी राम्रोसँग पास हुने सडक समेत नभएको प्रमुख कार्कीले बताए।

‘२ वटै ठूला गाडी एकैचोटी मोडमा एकआपसमा कट्न सक्दैन। त्यसकारण पनि तीनवटा मोडको बाटो फराकिलो बनाउन आवश्यक छ,’ उनले भने।

नयाँ प्रजातिको कोरोना भाइरस (कोभिड–१९) फैलिएसँगै सरकारले पुनः लकडाउन गर्न सक्ने भन्दै उपत्यका छाड्नेहरुको संख्या पनि बढ्दो छ। काठमाडौं उपत्यका छाडेर बाहिर जाने यात्रुहरुको संख्या बढेसँगै नाकाहरुमा गाडीहरुको चाप पनि बढ्दो छ।

काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गाबाट दिनहुँ एक लाखभन्दा बढी सवारी साधनहरु आवातजावत गर्छ। हाइवेमा गाडी चलाउन निकै जोखिमपूर्ण हुने स्वयम् गाडी चालकहरु भन्छन्। तर, उनीहरु आफैं लापरबाही तरिकाले गाडी चलाउँछन्।

गत मंगलबार ना६ख ९८२९ नम्बरको ट्रक अचानक गुड्दागुड्दै खोल्सामा पल्टियो। धन्न ट्रकमा सवार चालक र सहचालकलाई केही भएन। साँघुरो बाटोको कारण कुना पेल्दै जाँदा उक्त ट्रक पल्टिएको प्रहरीले जनाएको छ।

अत्याधिक सामान बोकेर काठमाडौं आउँदै गरेको ट्रक धेरै लोड भएको कारण पल्टिएको हो। ट्रक पल्टिएपछि त्यहाँको बाटो ‘वनवे’ भयो। ट्रक पल्टिएको ठाउँमा मुस्किलले एउटा मात्र गाडी पास हुन्थ्यो।

‘ट्रक पल्टिएपछि तत्कालै क्रेन लगेर उठाउन लाग्यौं,’ प्रमुख कार्कीले भने, ‘पूरै एकदिन लाग्यो। जतिबेलासम्म गाडी ‘वान वे’ मा चलिरह्यो। उक्त दिन कम्तीमा पनि एउटा गाडी २ घण्टासम्म जाममा फसेहोला।’

गाडीलाई उठाए पनि पल्टिएपछि केही पाटपुर्जा भाँच्चिएको कार्कीले बताए। ‘त्यसपछि फेरी मिस्त्रि बोलाएर बनाउँदा समय लागेको हो,’ प्रमुख कार्कीले भने। यो एउटा उदहारण मात्र हो। नागढुङ्गामा प्रत्येक दिन यस्ता घटना ४–५ वटा हुने गर्छ।

पहिले–पहिले चाडपर्व दशैं तिहारमा अत्याधिक गाडीको चापले नागढुङ्गा नाका जाम हुने गथ्र्यो। तर, अहिले दिन प्रतिदिन गाडीको संख्या बढ्दै जानु र सडकको अवस्था पहिलेकै जस्तो रहनुले सडक जाम बढ्दो छ।

सडकको स्थितिबारे सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराई बताउँछन्।

‘झट्ट देख्दा सडकमा जाम हुनुको कारण ट्राफिक प्रहरीले बाटो नबनाएर भएको भन्ने ठान्छन्,’ भट्टराईले भने, ‘ट्राफिक प्रहरीको काम जाम कम गराउने हो, बाटो बनाउने होइन।’

पछिल्लो समय नागढुङ्गामा मात्र होइन, काठमाडौं उपत्यकाको रिङरोड भित्र र बाहिर सडक जामको अवस्था उस्तै छ। अफिस टाइममा घण्टौं जाममा फस्नुपर्छ, सर्वसाधारण। यसरी सर्वसाधारणले दिनहुँ जामको सास्ती खेपिरहँदा सम्बन्धित निकाय ‘सुने पनि नसुने झैं’ गरिबस्ने गरेको छ।

हाइवेमा गाडी चलाउँदा यी ५ गल्ती कहिल्यै नगर्नु

१. ओभर स्पिड बढी जोखिमपूर्ण हुन्छ । हाइवेमा गाडी कुदाउँदा यसमा बढी ध्यान दिनुपर्छ ।

२. हाइवेमा गाडी चलाउने क्रममा घुम्ती सडकमा ओभरटेक गर्ने कोसिस नगरौँ । घुम्ती सडक सकिएपछि मात्र अगाडि पछाडिको गाडीलाई सिग्नल दिएर ओभरटेक गर्दा राम्रो हुन्छ ।

३. रातको समयमा हाइवेमा गाडी चलाउँदा अझै सचेत हुनु जरुरी छ । रातको समयमा आफ्नो लेनमा गाडी चलाउनुपर्छ । यदि लेन मिचेर गाडी चलायौँ भने विपरीत दिशाबाट आउने गाडी ठोक्किन सक्छ।

४. हाइवेमा गाडी चलाउँदा आफ्नो लेनमा चलाउनुपर्छ । जथाभावी लेन मिचेर गाडी चलाउँदा दुर्घटना निम्तिन सक्छ ।

५. यदि तपाइँ हाइवेमा लाइट गाडी चलाइरहनुभएको छ भने ठूला गाडीबाट बच्न जरुरी छ । त्यसैले यदि ठूलो गाडी तपाइँको गाडीको अगाडि र पछाडि गुडिरहेका छन् दूरी बनाउन जरुरी हुन्छ ।

प्रतिक्रिया