भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन राष्ट्रसङ्घको आग्रह


नयाँदिल्ली- आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूले काश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एकअर्काविरुद्ध कूटनीतिक उपायहरू लागू गरेपछि संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ ।

भारतले विवादित मुस्लिम–बहुल काश्मीरमा एक चौथाइ शताब्दीमा नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमणपछि पाकिस्तानलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध वर्षौंदेखिको न्यूनतम स्तरमा झरेको छ ।

“हामी दुवै सरकारलाई… अधिकतम संयम अपनाउन र हामीले देखेको अवस्था र घटनाक्रम अझ बिग्रिन नपरोस् भनी सुनिश्चित गर्न अपील गर्दछौँ”, संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले बिहीबार न्युयोर्कमा पत्रकारहरूलाई भने, “पाकिस्तान र भारतबीचको कुनै पनि मुद्दा अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकिन्छ र हुनुपर्छ भन्ने हाम्रो विश्वास छ ।”

भारतीय प्रहरीले तीन फरार बन्दुकधारीमध्ये दुईलाई पाकिस्तानी भनेर पहिचान गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार पहलगाम लोकप्रिय पर्यटकीय स्थलमा २६ नागरिकको हत्या गर्ने बन्दुकधारीहरूलाई पक्रने प्रतिज्ञा गरेका छन् ।

“म सारा विश्वलाई भन्छु : भारतले हरेक आतङ्कवादी र तिनका समर्थकहरूलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको कुनाकुनासम्म खोज्नेछौँ”, उनले भने ।

कुनै पनि संलग्नतालाई अस्वीकार गर्दै इस्लामाबादले पहलगाम आक्रमणसँग पाकिस्तानलाई जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भनेको छ र कुनै पनि भारतीय कारबाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ ।

“पाकिस्तानको सार्वभौमसत्ता र यसका जनताको सुरक्षामा कुनै पनि खतरालाई सबै क्षेत्रमा दृढ पारस्परिक उपायहरूद्वारा सामना गरिनेछ”, पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले शीर्ष सैन्य प्रमुखहरूसँग दुर्लभ राष्ट्रिय सुरक्षा समितिको बैठक गरेपछि पाकिस्तानी विज्ञप्तिमा भनिएको छ ।

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवैले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दावी गरे पनि यसको अलग–अलग भागलाई शासन गर्दै आएका छन् ।

विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित कश्मीरमा विद्रोह गर्दै आएका छन् ।

भारतको वायुसेना र नौसेना दुवैले बिहीबार सैन्य अभ्यास गरेका छन् ।

भारतीय प्रहरीका अनुसार तीन बन्दुकधारी पाकिस्तान–आधारित लश्कर–ए–तैयबा समूहका सदस्य हुन् । लश्कर–ए–तैयबा संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आतङ्कवादी सङ्गठन सङ्गठन हो ।

उनीहरूले प्रत्येक व्यक्तिलाई पक्राउ गर्ने सूचनाका लागि २० लाख रुपैयाँ (२३ हजार पाँच सय डलर) इनामको घोषणा गरेका छन् ।

आक्रमणको एक दिनपछि नयाँदिल्लीले पानी साझेदारी सन्धि निलम्बन गर्‍यो, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गर्‍यो, कूटनीतिक सम्बन्धहरू कम गर्‍यो र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लियो ।

जवाफमा इस्लामाबादले बिहीबार भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न, सिख तीर्थयात्रीहरू बाहेक भारतीय नागरिकहरूका लागि भिसा रद्द गर्न र आफ्नो छेउबाट मुख्य सीमा क्रसिङ बन्द गर्न आदेश दिएको छ ।

सिन्धु नदीबाट पानीको आपूर्ति रोक्ने भारतको कुनै पनि प्रयास ‘युद्धको कार्य’ हुने चेतावनी पनि पाकिस्तानले दिएको छ ।

पहलगाम हालैका काश्मीरी विद्रोही आक्रमणहरूमा नाटकीय परिवर्तन हो जसले सामान्यतया भारतीय सुरक्षा बलहरूलाई लक्षित गर्दछ ।

विशेषज्ञहरूका अनुसार सैन्य प्रतिक्रिया अझै आउन बाँकी हुन सक्छ । केहीले यो केही दिनभित्र आउन सक्छ भन्ने अनुमान गरेका छन् भने अरूले हप्ताहरू लाग्ने बताएका छन् ।

सन् २०१९ मा काश्मीरमा भएको आत्मघाती आक्रमणमा ४१ जना भारतीय सैनिक मारिएपछि भारतीय वायुसेनाले पाकिस्तानभित्र आक्रमण गर्‍यो । यसले दुई मुलुकलाई पूर्ण युद्धको सँघारमा पुर्‍याएको थियो ।

“यी आतङ्कवादीहरूको जति पनि थोरै भूमि छ त्यसलाई धुलोपिठो बनाउने समय आएको छ”, मोदीले बिहीबार मृतकहरूको सम्झनामा दुई मिनेट मौन धारण गरेपछि भने । पहलगाम आक्रमणमा मारिनेमा एक नेपालीबाहेक सबै भारतीय थिए ।

भारतले विगतका आक्रमणहरूको जवाफ दिन समय लिएको छ ।

हालका वर्षहरूमा भएको सबैभन्दा खराब आक्रमण सन् २०१९ फेब्रुअरीमा पुलवामामा भएको थियो । उक्त आक्रमणमा विद्रोहीहरूले विस्फोटकले भरिएको कार उडाएर प्रहरी काफिलामा ठोक्काउँदा ४० जनाको मृत्यु र कम्तीमा ३५ अन्य घाइते भएका थिए ।

भारतीय लडाकू विमानहरूले १२ दिनपछि पाकिस्तानी क्षेत्रमा हवाई आक्रमण गरेका थिए ।

मङ्गलबारको आक्रमण पर्यटकहरू पहलगामको लोकप्रिय स्थलमा शान्त पहाडी दृश्य मनाइरहेका बेला बन्दुकधारीहरू जङ्गलबाट निस्केर आएर स्वचालित हतियारहरूले भीडमाथि गोली बर्साएका थिए ।

बाँचेकाहरूले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेका थिए र इस्लामिक विश्वास घोषणा दिन सक्नेहरूलाई छोडिदिएका थिए ।

भारतीय सुरक्षा बलले ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिएर आक्रमणकारीहरूका लागि व्यापक खोजी सुरु गरेको छ ।

यस आक्रमणले हिन्दू राष्ट्रवादी समूहहरूलाई क्रोधित बनाएको छ, र भारतभरका संस्थाहरूमा काश्मीरका विद्यार्थीहरूले उत्पीडन र धम्की अनुभव गरेको रिपोर्ट गरेका छन् ।

प्रतिक्रिया