करेन्ट लागेर एकैपटक ६८ भैंसीको ज्यान गएपछि गाउँ शोकमा


राजस्थान, बाराँ — गत शुक्रबार भारतकाे  बाराँ जिल्लामा एक हृदयविदारक घटना भयो। जसले पूरै गाउँलाई शोकमा डुबाएको छ। गणेश जीको तलाउमा नुहाइरहेका ६८ भैंसी अचानक मरेपछि करिब ४० परिवारको आशा र आर्थिक आधार एकैसाथ भत्किएको छ।

घटनाका प्रत्यक्षदर्शी र पीडितहरूका अनुसार, बिहानै तलाउमा नुहाउँदै गरेका भैंसीहरू एकपछि अर्को गर्दै ढल्न थाले। केही मिनेटमै सबैको मृत्यु भयो। प्रारम्भिक अनुसन्धान अनुसार पानीमा विद्युत् प्रवाह भएको आशंका गरिएको छ।

मरेका भैंसीमध्ये धेरै गर्भवती थिए, जसले पशुपालकको दुःख झनै बढाएको छ। “तिनीहरू जनावर थिएनन्, हाम्रो परिवार थिए,” भनी सुबोध मीणाले आँखा रसाउँदै भने।

पोस्टमार्टमबिना अनुसन्धान अघि बढ्न नसकिने प्रहरी अधिकारी धर्मपाल यादवले बताए। तर गाउँलेहरू भावनात्मक रूपमा आहत भएकाले सहमतिका लागि समय लिइरहेका छन्।

यो घटनाबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। गाउँलेहरूले तत्काल राहत र मुआब्जाको माग गर्दै आएका छन्। प्रशासनले घटनाको गम्भीर छानबिन गर्ने प्रतिबद्धता जनाएको छ।

स्थानीय प्रशासनले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ र प्रभावित परिवारलाई राहत दिने आश्वासन दिएको छ।

घटनाको खबर लगत्तै बाराँका जिल्ला कलक्टर रोहिताश्व सिंह तोमर, एसपी राजकुमार चौधरी, एडीएम दिवांशु शर्मा र पशुपालन विभागका निर्देशक हरिवल्लभ मीणा घटनास्थल पुगे। पशुपालन विभागका निर्देशक मीणाले घटनाको दोष विद्युत् प्रवाह भएकै कारण देखिएको बताए र दोषीमाथि कारबाही हुने आश्वासन दिए। “बिजुली विभागलाई नोटिस पठाइसकिएको छ,” उनले भने, “जसको लापरबाहीले यस्तो दुःखद दुर्घटना भयो, उसमाथि कानुनी प्रक्रिया अघि बढ्छ।”

प्रतिक्रिया