

हराएको २८ वर्षपछि कसरी घर फर्किन सफल भए कञ्चनपुरका मानबहादुर ?

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक बेपत्ता भएको २८ वर्षपछि घर फर्किएका छन् ।
बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन् । तर उनी अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो । त्यसो त धानुकलाई पनि सुरुमा आफ्नो घर पत्ता लगाउन कठिन भयो। आफूले घर छोड्दाको बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र परेपछि स्थानान्तरण गरिएको थियो ।
भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर पुग्नु भएका उनी सबैभन्दा पहिले कपडालगायत सामान खरिद गर्ने पुरानो व्यापारी कहाँ पगे । उनीसँग कुरा गरेपछिमात्र उनलाइ थाहा भयो कि साविकको पिपलाडी गाविस–१ को तारापुर बस्ती स्थानान्तरण गरिएको रहेछ।त्यसपछि उनी महेन्द्रनगर बजार हुँदै झलारी बजार झरे । चिनजानका व्यक्तिसँग भेट भयो ।
तारापुर बस्तीलाई सिमलफाँटामा सारिएको जानकारी पाए। चिनजान कै व्यक्तिले अटो चालकलाई सिमलफाँटाको घरसम्म पुर्यायाइ दिन आग्रह गरे । अटो चालकले धानुकलाई घरमै पुर्याइदियो । यो गत शनिवारको कुरा हो। धानुक यत्तिका वर्षपछि घर फर्कनुमा भने उनको एक धर्म आमाको हात छ । जो ६५ वर्षीया वृद्धा हुनुुहुन्छ । भारतकै बनारस बस्ने उनै धर्म आमा र उनकी १३ वर्षीया नातिनिपनि धानुकसँगै आउनुभएको छ । धानुकले भने, “छोरा छोरी सानै हुँदा हिँडेकाले मैले चिन्ने कुरै भएन, आमा र श्रीमतीले चिने, धेरै वर्षपछि घर आइपुगेकाले परिवारका सदस्यले हर्षका आँसु बगाउन थाले ।
खुसी भए, मैले धेरै वर्ष सम्पर्कविहीन भएर बिताएकाले परिवार पाउँदा निकै खुसी छु ।” घरबाट विसं २०५३ मा कमाइको खोजीमा भारतको राजीस्थानस्थित जयपुर पुग्नुभएका उनको गतिलो कमाइ थिएन। काम गर्दा थोरै कमाइ हुन्थ्यो खान र लुगाफाटोमै सिद्धिन्थ्यो । “कामकै खोजीमा कहिले यता पुग्थे कहिले उता”, विगत सम्झँदै उनले भने, “घरसम्म पुग्ने बस भाडा हुँदैनथ्यो, घर जान पाए हुन्थ्यो भनेर सोच्थे, जान सक्ने अवस्था थिएन, विस्तारै घरको ठेगाना नै बिर्सिने अवस्थामा पुगेको थिएँ ।
उनका अनुसार राजिस्थानको जयपुरमा एक व्यक्तिसँग गहिरो मित्रता भयो । ती मित्रको ससुराली उत्तर प्रदेशको बनारसमा थियो। त्यहाँ दुवै जनाको आउजाउ थियो। ती मित्र बिरामी भएपछि धानुकले रगत दिएर ज्यान बचाउनुभयो। त्यसै बेलादेखि ती मित्रका सासुले धानुकलाई धर्मपुत्रका रूपमा मानेका थिए ।
ती वृद्धाका छोरा थिएन, उहाँले जमिन दिन्छु बस्नु भनेर पनि धानुकलाई अनुरोध गरे । “सित्तैमा लिएमा पाप लाग्छ भनेर जग्गा लिन अस्वीकार गरेँ”, उनले भने “तिनै बृद्धा आमाले परिवारसँग भेटनुपर्छ भनेर कर गर्नु भएपछि उनीसँगै घर आइपुगे, यत्तिका समयपछि परिवारसँग भेट हुन्छ भनेर सोचेकै थिइँन । परिवारलाई भेटन पाउँदा निकै खुसी छु, अब भारत फर्किन्न ।”
धानुकका छोरा गणेशबहादुर ३३ वर्षको छन्। यो उमेरमा बुवा पाउँदा खुसीको सीमा नै नरहेको उनले बताए। “सानै छँदा बुवाले छाडेर जानुभएको थियो”, उनले भने, “अहिले आएर बुवालाई भेटाएँ, परिवारमा खुसियाली छ ।” धेरै वर्षपछि घर आइपुग्नु भएका धानुकलाई भेट्न आफन्त र छिमेकी आउने क्रम बढेको छ ।
स्थानीय समाजसेवी भरतबहादुर विष्टले धानुकलाई घरसम्म ल्याउन उनकी धर्म आमाको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले भने, “ आमाको कार्य सह्रानीय छ, मानबहादुर धेरै लामो समयपछि घर आइपुग्दा हामी गाउँले खुसी छौँ ।” धानुकको दुई छोरा, एक छोरी, श्रीमती, आमा, भाई र भतिजा छन् ।

