डोटीमा बालिका मृत्यु प्रकरणः सुजङ अस्पतालविरुद्ध उजुरी दर्ता भएपछि शवकाे पोस्टमार्टम सुरू
डोटी- बुधवार राति डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु थियाे ।
खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो । सामान्य उपचारपछि राति शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधीले रियाक्सन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । हिजो प्रहरीले उपचारमा संलग्न ३ जना चिकित्सकलाई नियन्त्रणमा लिएको थियो ।
डाक्टर राजमणि यादव, डाक्टर सुरेन्द्रकुमार चौधरी र डाक्टर अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर नियन्त्रणमा लिएका तीनै जना चिकित्सकलाई प्रहरीले छोडिसकेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी इन्सपेक्टर सुर्यप्रकाश भट्टका अनुसार बालिकाको शव पोस्टमार्टमका लागि सिलगढी अस्पताल पठाइएको छ ।
आफन्तहरुले उपचारमा लापरबाही गर्ने चिकित्सकहरुलाई कारवाहीको माग गर्दै शव बुझ्न मानेका थिएनन् । तर बालिकाका आफन्तले सम्वन्धित चिकित्सकलाई कारबाही गर्न उजुरी दर्ता गरेपछि शव पोस्टमार्टम गर्न सिलगढी अस्पताल पठाइएको प्रहरी इन्सपेक्टर भट्टले बताए । बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव नै उत्पन्न भएको थियो । अस्पतालको उपचार सेवासमेत प्रभावित बन्न पुगेको छ।
प्रहरीले बुधबार रातिदेखि नै अस्पतालमा सुरक्षा पहरा दिइरहेको छ । मृतक बालिकाका आफन्त पनि अस्पतालमा भेला भएका छन्। मृतकका बुवा कामका लागि भारतमा छन् । अस्पताल प्रशासनले बालिकाको सल्यक्रियाका बेला एनेस्थेसीयाको रिएक्सन भएको प्रतिक्रिया दिएको प्रहरीले जनाएको छ ।
बालिकाको सल्यक्रिया अर्थोपेडिक सर्जन सुरेन्द्र चौधरीको नेतृत्वको टोलीले गर्ने तयारी भएको थियो भने विएस्सी एनेस्थेथिया गरेका अभिषेक यादवले उनलाई एनेस्थेसिया दिएका थिए । तर मृतक बालिकाका आफन्तले सम्वन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै एफआइआर दर्ता गरेका छन् । शवको पोस्टमार्टम रिपोर्टपछि बाँकी कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।