मीना अर्थात् शान्ताकी नेपथ्यमा असल साथी
काठमाडौं– विश्व नै चपेटामा पारेको नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट नेपाल कम्युनिस्ट पार्टीकी सचेतक शान्ता चौधरी पनि अछुतो रहिनन् । हालै मात्र लामो अस्पताल बसाईपछि उनी निको भएर घर फर्किएकी छन् ।
क्यान्सरको उपचार गरेकी शान्ताका लागि रोगसँग लड्ने मान, प्रतिष्ठा र शासकीय ताकतका अनेक सम्भावना थिए तर यसबेलाको असल साथी? कोरोना संक्रमणका बेला हेरचाह गर्ने सहयोगी वा साथी नहुने हो भने संक्रमितको आत्मबल यसै पनि खस्किन्छ । कतिपय समाचारमा आइरहेका थिए– डाक्टरले पनि हेर्दैनन् ।
तर मीना श्रेष्ठलाई यस्ता चिजले चिमोटिरहेको थियो । शान्ताको अवस्था आइसीयुसम्ममा पुगेपछि उनी रोकिन सकिनन् । उनी शान्ताकी नेपथ्यकी असल साथी हुन् । रोगसँग लड्न सक्ने शुभकामना दिने धेरै निस्किए तर उपचार र स्याहारमा साथ दिने कमै हुन्छन् । श्रेष्ठ निरन्तर शान्ताको उपचारका निम्ति सक्रिय भइन् र अहिले शान्ताको स्वास्थ्य चाँडो ठिक हुनुमा कहिँ न कहिँ मीनाको समर्पणको पनि योगदान प्रष्ट देखिन्छ ।
‘अप्ठ्यारो अवस्थामा साथीलाई सहयोग गर्नु मानवताको सवाल मात्र होइन, मित्रताको परिक्षा पनि हुन्छ । त्यसैकारण शान्ताका लागि अस्पतालमा म खटिएकी हुँ’, श्रेष्ठ भन्छिन्,‘अहिलेको महामारीमा कोही पनि संक्रमितको सेवाका लागि तयार हुँदैनन् । तर, शान्ताले राजनीतिमा फड्को मार्नु छ, उसको संघर्षले हरेक जीत निकाल्नुपर्छ भन्ने साथका लागि अस्पताल पुगेकी हुँ ।’
हरेक जसो दिन शान्ताको स्वास्थ्य अवस्थाका विषयमा सामाजिक सञ्जालमार्फत मीनाले जानकारी दिँदै आएकी थिइन् ।
उनी भन्छिन्,‘नेकपा नेत्री मात्र नभएर कतिपयका लागि उदाहरणीय पात्र भएकाले उनको स्वास्थ्यबारे सर्वसाधारणले जानकारी पाउनुपर्ने थियो । चिन्तित हुने कति थिए होला त्यसका निम्ति पनि सुधार भएका विषयमा जानकारी दिने गरेकी थिएँ ।’
शान्ता १९ दिन अस्पतालमा बसिन् । आइसीयुमा निकालेको दिनदेखि श्रेष्ठ ७ दिनसम्म लगातार उनको सेवामा हाजिर भइन् । कतिपयले छुन हुँदैन भन्ने गर्दथे तर ड्रेसिङलगायतका कतिपय काममा शान्तालाई पीडा हुँदा श्रेष्ठले साथीको धर्म निभाइन्, कोभिड सर्ला कि भन्ने हेक्का राखिनन् ।
बिहानै अस्पताल पुगेकी उनी शान्तालाई शौचालय लैजानेदेखि खाना बनाउने, खुवाउनेलगायतका कतिपयले आँकलन नै नगरेको सहयोग गर्थिन् । श्रेष्ठ जोड्छिन्,‘यो मित्रताको एउटा कर्तव्य पनि हुन्छ । रोगी साथी भई भन्दैमा त्रास र डरका कारण उसको जीवनको महत्वलाई बिर्सनु हुँदैन भन्ने लाग्यो, त्यसैले खटिएँ ।’
त्यसो त बिरामी हुँदा मात्र होइन, शान्ताको अन्य बेलामा पनि नेपथ्यमा रहेर श्रेष्ठले धेरै सुझाव दिएकी छन् । जसलाई शान्ता आफैंले पनि मुल्यांकन गरेको हुनुपर्छ । तर अप्ठ्यारो अवस्थामा कसैले वास्ता नगर्दा रोगको होइन, भोक र जीवनको वास्ता गरिदिने साथीका रुपमा श्रेष्ठले सहयोग गरेकी थिइन् ।