पश्चिमी सीमामा भारतको बलमिच्याइँ, गड्डाचौकी पुग्नै लाग्यो एसएसबी


काठमाडाैं- ‘महाकाली नदीमाथि रहेको बनबासा पुल अर्थात् शारदा ब्यारेज भएर भारत जाँदा अहिलेको जस्तो सास्ती भोग्नु पर्थेन’ विस २०५५ साल अगाडिको कुरा स्मरण गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका राजु चन्दले भने ।

अहिले गड्डा चौकीको नजिकै देखिने भारतीय सीमा सुरक्षा बल (एसएसबी) त्यतिबेला पुलनिर पनि नबस्ने गरेको उनलाई सम्झना छ । ‘त्यतिखेर न कुनै पिल्लर थियो न भारतीयहरूको उपस्थिति । आवागमनमा कुनै अवरोध थिएन । त्योबेला शारदा ब्यारेजमाथि नेपालको राष्ट्रिय झण्डा फहराउने गरेको उनले सम्झिए ।

अहिले शारदा ब्यारेज रहेको भूभाग पहिले नेपालकै थियो । शारदा ब्यारेजको निर्माणका लागि नेपाली भूमि चाहिने भएकाले ३ मे १९१६ मा ब्रिटिस रेजिडेन्ट जे म्यानर्सले नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरसँग उक्त भूमाग माग गरेका थिए । शारदा (महाकाली) नदीको पानीले तत्कालीन युनाइटेड प्रिभेन्स (उत्तरप्रदेश) मा सिँचाइ गर्न शारदा बाँधका लागि नेपालको भूमि प्रयोग गर्न दिन उनले आग्रह गरेको थिए ।

२३ अगस्त १९२० मा चन्द्र शमशेर शारदा बाँधका लागि जमिन दिन तयार भए । यो ब्यारेज सन् १९२० मा निर्माण सुरु भएर १९२८ मा ब्यारेजको निर्माण सम्पन्न भएको थियो ।

बाँध निर्माणका लागि आवश्यक ४०९३.८८ एकड नेपाली भूमि सट्टाभर्ना पाउने सर्तमा दिन चन्द्र शमशेर राजी भएका थिए । तर, शारदा बाँधमा प्रयोग भएको जमिनको सट्टाभर्नामा नेपालले कहाँ जमिन पायो भन्ने कतै उल्लेख छैन ।

भारतमा शासन चलाएका अंग्रेजको पालामा दिइएको भूभाग फिर्ता ल्याउन अहिलेसम्म कुनै पहल भएको छैन ।

राजु चन्दका अनुसार २०५८ तिर भारतीय पक्षले बनबासा पुलनिरै चेकिङ सुरु गरेको थियो । त्यसको केही समयपछि एसएसबी त्यहि स्थानमा बस्न थाल्यो । पछि भारतले पिल्लर नम्बर ८०५/१(७) को केही अगाडी गेट बनाएको थियो । गत वर्ष भने भारतीय पक्षले सीमा क्षेत्रको पिल्लरदेखि नै सडक कालोपत्रे गरेको थियो ।

भीमदत्त नगरपालिका– ११ गड्डाचौकीस्थित सीमा क्षेत्रको पिलर क्षेत्रबाटै सडक कालोपत्रे गरेपछि नेपाली पक्षले विरोध जनाएको पनि थियो । तर, बलियो भारतका अगाडी नेपाल निरीह देखियो ।

अहिले भने पुनः भारत आफ्नो शक्ति देखाउँदै त्यहि स्थानमा पार्क बनाइरहेको छ । तत्काल पार्क भनिएतापनि त्यहाँ स्थायी संरचना नै बन्न लागेको छ । त्यसकै केही दूरीमा एसएसबीको क्याम्प छ ।

पार्क बनाइने भनिएको स्थानमा अहिले ठूला पोल गाडेर भारतीय झण्डा फहराइएका छन् । नेपाल पक्षले आफ्नै भूमिमा संरचना निर्माण गर्दा अवरोध गर्ने भारतीय पक्षले दशगजा र सीमापिलर क्षेत्रमै पुगेर संरचना बनाउदा नेपाली पक्ष भने मौन छ ।

यो विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटालाई जिज्ञासा राख्दा उनले दशगजा क्षेत्रभन्दा परपट्टी नै भारतले संरचना बनाउन लागेको बताए । ‘कुन संरचना बनाउन लागेको हो भन्ने जानकारी छैन । तर, हाम्रो दशगजा क्षेत्रमा बनाएको छैन । उसले आफ्नो क्षेत्रमा बनाउन पाउँछ’ उनले भने ।

यस्तै सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल पनि भारतले आफ्नै क्षेत्रमा उक्त संरचना बनाइरहेको दाबी गर्छ । गड्डाचौकीका सशस्त्र प्रहरी नायब उपरीक्षक तेजराज शर्मा भन्छन्, ‘हामीले नेपालपट्टी झण्डा राखेर पार्क जस्तै बनाएका छौं, त्यसरी नै भारतले पार्क बनाउन लागेको हो । त्यसका लागि हामीलाई जानकारी गराएको थियो । नेपालतिर कुनै भूभाग मिचेको छैन ।’

स्थानीयका अनुसार भारतका सवारी निर्वाध रुपमा नेपाल आउने र उक्त क्षेत्रमा पार्किङ गर्दा केही नबोल्ने एसएसबीले नेपाली सवारीलाई भने रोकटोक गर्ने गरेका छन् ।

उसो त कञ्चनपुरमा बेलाबेला सीमा सम्बन्धी विवाद आइरहेको हुन्छ । नेपाल–भारत सीमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर २०७३ फाल्गुन २६ गते पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो । उनलाई भारतीय प्रहरीले गोली हानेको थियो । त्यसपछि पनि भारतको बलमिच्याइँ रोकिएको छैन ।

कञ्चनपुरको ब्रह्मदेवमण्डी–पूर्णागिरी, टनकपुर जलाशय क्षेत्र, टनकपुर ब्यारेज, बनबासा–गड्डाचौकी क्षेत्र, शारदा ब्यारेज, शुल्काफाँटा, परासन–खुड्काककडमा पनि सीमा विवाद छ । कहिले सिमांकन गर्ने त कहिले भूभागको विषयलाई लिएर एसएसबी हतियारसहित नेपाली भूभागमा पस्ने गरेको छ ।

पूर्व परराष्ट्रमन्त्री एनपी साउद र हालका गृहमन्त्री रमेश लेखक कञ्चनपुरबाटै निर्वाचित भएका हुन् । तर, भारतले आफ्नै निर्वाचन क्षेत्रमा सीमा मिचिरहँदा कुनै ठोस कदम उठाउन उनीहरुले खुट्टा कमाउने गरेको मतदाताहरुको गुनासो छ ।

 

 

प्रतिक्रिया