नारायणकाजीको इशारामा प्रहरीको कप्र, सरुवामा जामै–जाम


काठमाडौं – २०८० जेठमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम महाशाखा, महाराजगञ्जमा कार्यरत प्रहरी उपरिक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनालाई प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन (कप्र) शाखामा सरुवा गरिएको थियो । त्यो बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए । उनकै रोजाइमा तिमिल्सिनालाई कप्रमा ल्याइएको थियो ।

त्यसपछि सत्ता गठबन्धन परिवर्तन भएर गृहमन्त्रालयमा रवि लामिछानेको नेतृत्व आयो । उनको पालामा कप्र शाखा प्रमुख रहेका एसपी तिमिल्सिनालाई सिन्धुलीमा सरुवा गरिएको थियो । तर, गत बैशाखमा सरुवा भएका उनी विभिन्न कारण देखाउँदै त्यहाँ जान मानेनन् । त्यसपछि उनको ठाउँमा एसपी गोविन्द काफ्ले गए ।

हाल गृहन्त्रीको रुपमा रमेश लेखक छन् । तर, नारायण काजीको पालामा कप्रमा पुगेका तिमिल्सिना त्यहीँ कब्जा जमाएर बसिरहेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर भने बेलाबेला प्रहरीका हाकिमहरु एकै ठाउँमा बस्न नहुने बताउँदै भाषण ठोक्ने गरेको भएपनि व्यवहारमा उनी पनि शुन्य नै छन् । त्यसैको एक उदाहरण हुन्–एसपी तिमिल्सिना ।

प्रहरीको सरुवा–बढुवा हेर्ने शाखा कप्रमा तिमिल्सिनाको एकछत्र राज छ । लामो समयदेखि प्रहरी नायब महानिरीक्षक (डिआइजी) देखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा तिमिल्सिनाकै कारण रोकिएको छ । अहिलेसम्म काठमाडौं ट्राफिक महाशाखादेखि बागमती प्रदेश प्रहरी निमित्तको भरमा छ ।

कप्र शाखा प्रमुख तिमिल्सिनाले आफ्ना मान्छेलाई भने सेटिङ मिलाएर काज सरुवा गरिरहेका छन् । यति मात्रै होइन, सत्ता परिवर्तनसँगै कांग्रेसका लेखकले गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहँदा पनि प्रहरीको कर्मचारी प्रशासनमा भने माओवादीका पूर्व गृहमन्त्री नारायणकाजीकै अधिपत्य रहेको छ । एसपी तिमिल्सिनाले काजीकै सचिवालयको इसारामा चलिरहेको स्रोतका दाबी छ । उनले विभिन्न गोप्य सूचनाहरु माओवादीसम्म पुगाउने कार्य पनि गर्दै आएको बताइएको छ ।

सेटिङमा काज सरुवा गर्दै आएका उनले अन्यको हकमा भने विभिन्न कारण देखाउँदै सरुवा रोक्दै आएका छन् । उनले विभिन्न बखेडा झिकेर सरुवा रोकिरहेको स्रोत बताउँछ । सोही कारण देशका विभिन्न स्थानमा निमित्तको भरमा कार्यालयहरु चलिरहेका छन् भने इन्स्पेक्टरहरु एक वर्षभन्दा बढी समयदेखि एकै कार्यालयमा काम गरिहेका छन् ।

आकर्षक ठाउँ जान शक्तिकेन्द्रमार्फत दवाव

भदौ पहिलो साता मै हुनुपर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा रोकिएको छ । गत वर्षको साउन ३० मा करिब एक हजार प्रहरी निरीक्षकको सरुवा भएको थियो । तर, उनीहरुको सरुवा भएको एक वर्ष पुरा हुँदा समेत प्रहरी प्रधान कार्यालयले नियमित सरुवा निकाल्न सकेको छैन । यसको मुख्य कारण एसपी तिमिल्सिना नै हुन् ।

एसपी तिमिल्सिनाले आफू निकटका प्रहरी कर्मचारीहरुलाई भने गृहमन्त्रालय र राजनीतिक दलका शीर्ष नेताकै कारण सरुवा रोकिएको बताउँदै आएका छन् ।

प्रहरी नियमावली २०७१ अनुसार प्रहरी अधिकारीको सरुवा कम्तिमा एकवर्ष तोकिएको छ ।

इन्स्पेक्टरबाहेक डीएसपी सरुवा भएको पनि एक वर्ष पुरा भएको छ । गत भदौ १५ मा डिएसपीहरुको सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अुनसार प्रहरी निरीक्षकको सरुवाका लागि गृहमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयबाट समेत तीव्र दबाव आएको छ ।

प्रतिक्रिया