एमबीबीएस र एमडी गरेका चिकित्सक पनि बेरोजगार !


काठमाडाैं- नेपालमा चिकित्सकले नै रोजगारी पाउन कठिन देखिएको छ । नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा अन्य पारामेडिक्स क्षेत्रमा रोजगारी पाउन फलामको चिउरा चपाए सरह छँदै छ ।  तर, ६० लाख रुपैयाँभन्दा बढी खर्च गरेर एमबीबीएस पास भएका चिकित्सकसमेत बेरोजगार छन् । एमबीबीएस मात्र होइन, काठमाडौं उपत्यकामा एमडी गरेका चिकित्सकसमेत बेरोजगार हुन थालेका छ ।

मणिपाल मेडिकल कलेजबाट एमबीबीएस पास गरेकी निष्मा शाक्य (नाम परिवर्तन) ले हरेक सरकारी अस्पतालमा करारमा खुल्दा आवेदन दिएको धेरै भयो । उनले हालसम्म कुनै अस्पतालमा नाम निकाल्न सकेकी छैनन् । त्यसबाहेक निजी अस्पतालमा समेत आफ्नो बायोडाटा छाडेकी छन् छ तर कुनै पनि अस्पतालले उनलाई बोलाएका छैनन् ।

केही महिनाअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा करार सेवाका लागि आवेदन दिँदासमेत उनले रोजगारी पाइनन् ।

निष्मा शाक्य मात्र होइन, एमबीबीएस तथा एमडी पास भएका धेरै डाक्टरको पीडा यस्तै छ । नेपालमा डाक्टर अध्ययन पूरा गरेका तर राजनीतिक पहुँच नभएका सयौँ डाक्टर बेरोजगार छन् ।

यस्तै एम शाहले ६ महिना कुरेर बल्लतल्ल सानो निजी अस्पतालमा काम गरिरहेका छन् तर, उनलाई अस्पतालले काम अनुसारको तलब सुविधा उपलब्ध गराएको छैन । डा. शाहले उक्त अस्पतालले आफूलाई २४ सै घण्टा काममा लगाएर मासिक ३२ हजार मात्र उपलब्ध गराएको बताए ।

डा. शाहले एमडी अध्ययनका लागि एक वर्षको अनुभव चाहिने भएकाले एक वर्षसम्म निजी अस्पतालले काममा दलाइरहने बताए ।

नेपाल मेडिकल काउन्सिलको तथ्याङ्क अनुसार हालसम्म ३४ हजार ९१० जना चिकित्सकले एमबीबीएस पास गरेर लाइसेन्स लिएका छन्। तीमध्ये ३० हजार २७ जनाले एमबीबीएस र चार हजार ८८३ जनाले बीडीएस पास गरेका छन् ।

यसै गरी १० हजार ५८० जनाले विशेषज्ञता हासिल गरेका छन् । तीमध्ये नौ हजार ८२३ ले एमडी/एमएस तथा ७६५ जनाले एमडिएस पास गरेका छन् । -गोरखापत्र दैनिक

प्रतिक्रिया