

अभिभावकको आडमा सत्तामा पुगेका यी ३ युवा

काठमाडाैं – विश्वमा अहिले तीन जना युवाहरूको चर्चा छ। जो कलिलै उमेरमा सत्ता शिखरमा पुगे। तर उनीहरूको यो प्रगति व्यक्तिगत प्रयासले नभएर पैत्रिक शक्तिले हो।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले राष्ट्रपतिबाट अवकाश लिँदा आफ्नी ४६ वर्षीया छोरी सारा डुआर्टे काप्रियोलाई उपराष्ट्रपति बनाएर गए।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आफूले राष्ट्रपतिको पदबाट अवकाश लिँदै गर्दा आफ्नो ३७ वर्षीय छोरा गिब्रान राकाबुमिङ राकालाई उपराष्ट्रपति बनाएर गए।
थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले आफ्नी ३७ वर्षीया छोरी पाइटोङ्टर्न सिनावात्रालाई पनि प्रधानमन्त्री बनाइदिए।
पाइटोङटर्न सिनावात्रा, प्रधानमन्त्री थाइल्यान्ड
राजनीतिमा “जोगी” बन्न कोही पनि आएको हुन्न, प्रजातन्त्रको फलमा सबैभन्दा पहिलो हक नेतापरिवारकै हुन्छ भन्ने कुरालाई प्रमाणित गरेकी छन् थाइल्यान्डकी युवती प्रधानमन्त्री पाइटोङटर्न सिनावात्राले।
उनका बुवा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचार र पदको दुरुपयोग गरेको आरोप लागेपछि विदेश भागेर गएका थिए। उनको पार्टीले थाक्सिनलाई प्रजातन्त्रको लागि दु:ख पाएको जनपक्षीय क्रान्तिकारी नेता भनेर देखाउँदै जनताको सहानुभूति बटुलिरहेको थियो।
छोरी पाइटोङटर्नले प्रधानमन्त्री हुने बित्तिकै आफ्नो बुवामाथि लागेका सबै आरोपहरूबाट क्षमादान गराएकी छन्। यसको विरोध नहोस् भनेर आफ्नो गठबन्धनका सबै सहयोगी दलका करिव ९०० जना भ्रष्टाचारको आरोप लागेकाहरूलाई पनि क्षमादान दिलाएकी छन्। कानून बनाउने र बिगार्ने शक्ति आफ्नो हातमा आएपछि अपराधबाट मुक्ति पाउने बाटो कानूनभित्र बाट नै खोज्न सकिहालिन्छ।
प्रधानमन्त्री सेरेत्था थाविसिनलाई थाइल्यान्डको संवैधानिक न्यायालयले प्रधानमन्त्री पदको लागि अयोग्य घोषित गरिदिएपछि सत्तारुढ गठबन्धनको प्रमुख दल फेउथाइ पार्टीले नयाँ प्रधानमन्त्रीको निम्ति सो पार्टीका संस्थापक नेता पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पाइटोङ्टर्न सिनावात्रालाई छानेको छ।
धेरैले प्रधानमन्त्री थाविसिनको बहिर्गमनपछि कार्यवाहक प्रधानमन्त्री भै काम गरिरहेका वरिष्ठ उपप्रधानमन्त्री फुमथान वेचायाचाईलाई नै फेउथाई पार्टीले प्रधानमन्त्री छान्ला सोचेका थिए। तर सो दलले पार्टीका संस्थापक नेताकै छोरीलाई प्रधानमन्त्री छानेर पारिवारिक निरन्तरता नै दिएको छ। पार्टीको पुरानो र वरिष्ठ नेता भएर पनि बिचरा फुमथान वेचायाचाई फुस्सै परेका छन्।
संस्थापक थाक्सिन सिनावात्राकी बहिनी यिङलक सिनावात्रा पनि सो दलबाट सन् २०११ मा प्रधानमन्त्री भैसकेकी छन्। संसारभर लोकतन्त्रको निम्ति लडेको दावी गर्ने पार्टीहरूको चलन र चरित्र यस्तै हो। सर्वत्र यस्ता दलहरू आफ्नै पारिवारिक कम्पनी जस्ता भएका छन्।
नवनियुक्त प्रधानमन्त्री श्रीमती पाइटोङ्टर्न सिनावात्रा आगामी २१ अगस्टमा ३८ वर्षकी हुँदैछिन्। उनी र उनका पति पिटाका सुकसावत थाइल्यान्डका ठूला व्यापारी हुन्। यिनी दुई वर्ष अघिमात्रै राजनीतिमा आएर एकैचोटी उनीहरूको पारिवारिक पार्टी फेरुथाई पार्टीको सभापति छानिएकी थिइन्।
नवनियुक्त प्रधानमन्त्री श्रीमती पाइटोङ्टर्न सिनावात्राले थाई नरेश महावज्रअलंकरणसामु शपथ खाएपछि आगामी २७ अगस्टदेखि कार्यभार समाल्ने योजना सार्वजनिक भएको छ।
सारा डुआर्टे काप्रियो, उपराष्ट्रपति फिलिपिन्स
कठोर शासकका रुपमा चिनिएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरु उठाएका थिए ।
दुई प्रभावशाली राजनीतिक नेताहरुको तालमेलका कारण उनीरुका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ विजयी भएका छन् ।
राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएको र त्यो सङ्ख्या आफ्नो प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धीको रुपमा उदारवादी पक्षधर एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिए ।
नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
गिब्रान राकाबुमिङ राका, उपराष्ट्रपति इन्डोनेसिया
सन् १९८७ मा जन्मिएका गिब्रान यसअघि सुराकार्ताको मेयर बनिसकेका थिए । उनी पूर्व राष्ट्रपति जोको विडोडोका कान्छा छोरा हुन् । अर्किड पार्क सेकेन्डरी स्कुलमा अध्ययन गरेका गिब्रान्स २०२१ मा सुराकार्ताको सबैभन्दा लोकप्रिय मेयरका रुपमा परिचित थिए ।
पारिवारिक विरासत रहेको फर्निचर व्यवसाय गरेका गिब्रान्सले २०१५ मा खाद्य कम्पनी मार्कोबर नाम व्यावसाय सञ्चालन गरेका थिए ।
फेब्रुअरी १४ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा उनले ५७ प्रतिशत मत प्राप्त गरि कान्छा उपराष्ट्रपतिको रुपमा निर्वाचित भएका थिए ।

