ताप्लेजुङकाे विद्यालयबाट हराएका ८ ल्यापटप डेढ वर्षपछि गाडेको अवस्थामा फेला


ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ स्थित पार्टीडाँडा माध्यमिक विद्यालयबाट हराएका ल्यापटपहरू गाडिएको अवस्थामा फेला परेका छन्। हराइरहेका ८ वटा ल्यापटप सोही वडाको पित्तोलुङ भन्ने स्थानमा बोरामा पोको पारेर गाडिएको अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए।

२०७९ पुस २२ गते राति विद्यालयको ढोका फोरेर ११ वटा ल्यापटप चोरी भएको थियो। चोरीपछिको खोजी अभियानमा केही दिनमै ३ वटा ल्यापटप फेला परे पनि बाँकी ८ वटा हराइरहेका थिए। ती ल्यापटप ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएफ) ले शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत आइसीटी कक्षा स्थापना गर्नका लागि विद्यालयलाई प्रदान गरेको थियो।

विद्यालयमा हस्तान्तरण भएको केही समयमै चोरी भएको घटनाले शैक्षिक उपकरण सुरक्षामाथि प्रश्न उठाएको छ। चोरीको सूचना पाएपछि प्रहरी, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक र स्थानीयवासीले संयुक्त रूपमा खोजी गर्दा ती ल्यापटप गाडिएको अवस्थामा भेटिएको हो।

अध्यक्ष वनेमले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी सार्वजनिक गर्न तथा कानुनअनुसार कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया