दुर्घटनाग्रस्त यती एयरलाइन्सको ‘सीभीआर’ रेकर्ड कसले सार्वजनिक गर्‍यो ? अनुसन्धान गर्दै सिआइबी


काठमाडाैं- २०७९ माघ १ गते आइतबार बिहान यती एयरलाइन्सको ९ एन –एनसी जहाज काठमाडौंबाट पोखरातर्फ उडेको थियो । जसलाई पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडाले उडाइरहेका थिए ।

विमानको परिचारिकाका रूपमा के राना र एसआर ठकुरी रहेका थिए । ६८ जना यात्रु बोकेर चारै जनाको टोलीले १०ः३३ मा काठमाडौंको रनवे छाडेको थियोे । तर, ठीक १०ः५२ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने विमान सेती खोचमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा सबै ७२ जनाको मृत्यु भएको थियो ।

विमानलाई आवश्यक पर्ने भिजिबिलिटी हुँदा पनि जहाज अवतरण नभएर कसरी दुर्घटनामा पर्यो भनेर प्रश्न उठेको थियो । जहाज ‘फाइनल’ एप्रोचमा भएका बेला सेती खोचमा पुगेर कसरी दुर्घटनाग्रस्त भयो भनेर जान्न तत्कालीन मन्त्रिपरिषद्ले पूर्वसचिव नगेन्द्र घिमिरे नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । जसको सदस्यमा इन्जिनियर दिपकप्रसाद बास्तोला, सिनियर क्याप्टेन सुनिल प्रधान, सिनियर इन्जिनियर एकराज जंग थापा र सदस्य सचिवको रुपमा सहसचिव बुद्धिसागर लामिछाने रहेका थिए ।

आयोगले छानविनपछि ७२ जनाको ज्यान जाने गरी पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको सम्भावित कारण मानवीय त्रुटि हुनसक्ने जनाएको थियो । आयोगले सरकारलाई बुझाएको अन्तिम प्रतिवेदनमा चालकको त्रुटि नै दुर्घटनाको ‘मुख्य सम्भावित कारण’ हुन सक्ने उल्लेख गरिएको उल्लेख छ ।

विमान उडाइरहेका पाइलटले त्रुटिपूर्ण रूपमा दुवै ‘कन्डिशन लिभर’ तान्दा इन्जिन बन्द भई दुर्घटना निम्तिएको हुन सक्ने त्यसमा लेखिएको छ ।

त्यसरी पाइलटले दुवै कन्डिशन लिभरहरू तानेपछि जहाज ‘फेदर पोजिशन’मा गएको र अगाडि बढ्न नसकेको कारण खसेर दुर्घटना भएको हुन सक्ने आयोगको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले जहाजबाट पाइएको फ्लाइट डाटा रेकर्डर (एफडीआर) र पाइलटहरूले आपसी संवाद गरेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को अनुसन्धान गरेर गत वर्ष पुस १२ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनका अनुसार उक्त जहाजका मुख्य चालक क्याप्टेन कमल केसी सहचालकको सीटमा बसेका थिए भने सहचालक अञ्जु खतिवडा मुख्य चालकको सीटमा बसेकी थिइन् । प्रशिक्षक पाइलट समेत रहेका केसीले खतिवडालाई निर्देशन दिइरहेका थिए । तर अन्तिम अवस्थासम्म पनि इन्जिनमा ‘पावर’ नआएपछि केसीले नै जहाज अवतरणको ‘कमान्ड’ सम्हालेका थिए ।

अहिले कसरी सार्वजनिक भयो सीभीआर रेकर्ड ?
सबै जहाजको विमानको पछिल्लो भागमा ‘ब्ल्याक बक्स’ नामक विद्युतीय उपकरण राखिएको हुन्छ । विमान दुर्घटनाका घटनामा निकै महत्त्वपूर्ण मानिने यो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ ।

विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ । प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन्, फ्लाइट डाटा रेकर्डर (एफडीआर) र पाइलटहरूले आपसी संवाद गरेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) । दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्सबाट दुर्घटनाअघि ककपिटमा पाइटलहरुबीच भएको कुराकानी रेकर्ड हुने भएकाले यो अनुसन्धानमा महत्त्पूर्ण मानिन्छ ।

दुर्घटनाग्रस्त यती एअरलाइन्सको विमानबाट निकालिएको ब्ल्याक बक्स

यती एयरलाइन्सको ९ एन –एनसीको सीभीआरबाटै दुर्घटनाको कारण चालकदल भएको भनेर आयोगले निष्कर्ष निकालेको थियो । तर, दुर्घटना भएको करिब १८ महिना तथा आयोगले प्रतिवेदन बुझाएको ७ महिनापछि संवेदनशील मानिने सीभीआरको रेकर्ड बाहिरिएको छ ।

उक्त अडिओमा पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडाबीच जहाज अवतरण हुने बेलाको संवाद सुन्न सकिन्छ । संवादको अन्तिममा को–पाइलट खतिवडाले जहाजमा पावर आएन भन्दै अत्तालिएको त्रसित बनाउने आवाज रहेको छ ।

सुरुमा उक्त अडियो ‘ग्राउन्ड जिरो’ नामक युट्युब च्यानलले सार्वजनिक गरेको थियो । त्यसपछि अन्य सञ्चारमाध्यम तथा युट्युब च्यानलले सोही अडियो सार्वजनिक गरेका थिए । तर, अहिले भने ‘ग्राउन्ड जिरो’ले उक्त अडियो आफ्नो च्यानलबाट हटाइसकेको छ ।

सो अडियो सार्वजनिक प्रकरणले थुप्रै सवालहरु खडा गरेको छ । छानविन सकेर आयोगले सरकारलाई बुझाइसकेको अत्यन्तै संवेदनशील ‘ककपिट भ्वाइस रेकर्ड’ बाहिर आउनाले आमजनतामा त्रासको वातावरण निर्माण भएको कतिपय पाइलटहरुको बुझाइ छ । त्यसले आम जनताले पाइलटहरुप्रति हेर्ने नजर फरक बनाइरहेकोसमेत उनीहरुको भनाई छ ।

यो विषय अत्यन्तै गम्भीर भएकाले सार्वजनिक गर्न नहुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डे बताउँछन् । ‘हामी पनि त्योबारेमा गम्भीर भएका छौं । त्यो कताबाट आयो भनेर हामीसँग सम्बन्धित कुरा होइन । त्यो त्यतिबेलाको छानविन आयोगसँग हुने कुरा हो । छानविन आयोगले त्यो अडियो सुनेर निष्कर्ष निकालिसकेका थियो । प्रतिवेदन पनि बुझाइसकेको थियो’ उनले भने, ‘यो सार्वजनिक नभएको भए हुन्थ्यो भनेर चिन्तित भएका छौं ।’

उता तत्कालीन छानविन आयोगको नेतृत्व गरेका पूर्वसचिव नगेन्द्र घिमिरे पनि गम्भीर विषय सार्वजनिक नहुनुपर्ने बताउँछन् । ‘त्यो सीभीआर रेकर्ड बाहिर ल्याउनुपर्ने विषय नै होइन । अहिले आएर गोप्य राख्नुपर्ने प्रमाण अन्तर्गत आउने भ्वाइस रेकर्ड हामीले बाहिर ल्याउने कुरै छैन । अहिले त्यो हाम्रो सम्पत्ति होइन’ उनले भने । अहिले बाहिर आएको अडियो ‘फेक’ पनि हुनसक्ने उनी बताउँछन् ।

यसै विषयमा तत्कालीन छानविन आयोगका सदस्य सचिवको रुपमारहेका बुद्धिसागर लामिछानलाई सम्पर्क गर्दा उनी बोल्न मानेनन् ।

यसैबीच सार्वजनिक अडियो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि यो विषयमा गम्भीर बनेको छ ।

प्रतिक्रिया