६ वर्षमा ६१ पाइलटमाथि कारबाही, स्टन्ट गर्नेदेखि नियम नमान्नेसम्मको लापरबाही


काठमाडाैं- माघ १, २०७९ मा ७२ जनाको ज्यान जानेगरी यती एयरलाइन्सको ९ एन –एनसी जहाज पोखरामा दुर्घटनाग्रस्त भएको थियो । पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडाले लापरबाही गरेकै कारण उक्त जहाज दुर्घटनामा परेको निष्कर्ष त्योबेला गठन भएको छानविन आयोगले निकालेको थियो ।

आयोगले सरकारलाई बुझाएको अन्तिम प्रतिवेदनमा चालकको त्रुटि नै दुर्घटनाको ‘मुख्य सम्भावित कारण’ हुन सक्ने उल्लेख गरिएको उल्लेख छ । विमान उडाइरहेका पाइलटले त्रुटिपूर्ण रूपमा दुवै ‘कन्डिशन लिभर’ तान्दा इन्जिन बन्द भई दुर्घटना निम्तिएको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । सिकारु कोपाइलट खतिवडालाई लिभर सम्हाल्न दिँदा उक्त जहाज सेती खोचमा गएर दुर्घनाग्रस्त भएको आयोगले जनाएको थियो ।

                                                                          ०००
गत जेठ २१ गते नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा र भावना पन्तलाई निलम्बनमा परेका थिए । लामाले विमानस्थल परिसरमा निगमको जहाजसहितको फोटो खिचेर फेसबुकमा हालेको र पन्तले एक टेलिभिजन च्यानलसँग विमानस्थलको अति संवेदनशील क्षेत्रमा अन्तर्वार्ता दिएपछि उनीहरुलाई नागरिक उड्डयन प्राधिकरण(क्यान)ले ग्राउन्डेट गरेको थियो ।

उनीहरुमाथि नागरिक उड्डयन प्राधिकरण ऐन तथा नियमावलीविपरीत काम गरेको कसूर लागेको थियो । पछि क्याप्टेन लामालाई २५ हजार रुपैयाँ जरिवाना गरी कारबाही फुकुवा गरियो भने छानबिनबाट दोषी नदेखिएपछि एक सातामै पन्तको कारबाही फिर्ता गरियो ।

उनीहरुजस्तै अन्य पाइलटले पनि नियम मिच्ने गरेको प्राधिकरणले जनाएको छ । विगत ६ वर्षमा त्यसरी लापरबाही गर्ने इजाजतपत्र प्राप्त ६१ जना पाइटललाई कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।

क्यानका अनुसार सन् २०१८ मा १४ जना, सन् २०१९ मा ८ जना, सन् २०२० मा ७ जना, सन् २०२१ मा ६ जना, सन् २०२२ मा १० जना र सन् २०२३ मा १६ जना पाइलट कारबाहीमा परेका छन् । यस्तै २०२४ को हालसम्ममा प्राधिकरणले ९ जना पाइलटलाई कारबाही गरिसकेको छ ।

नेपालमा यात्रु बोकेर जहाज उडाउने गरेका पाइलटकै लापरवाहीका कारण धेरैजसो विमान दुर्घटना हुने गरेको अधिकारीहरुले बताएका छन् ।

पाइलटहरु स्वास्थ्य अवस्था ठिक नहुँदा पनि जहाज उडाने, उडानका दौरान उचाई तथा दुरी कायम नराख्ने, जोखिम लिएर खराब मौसममा जहाज उडाउने, स्टन्ट गर्ने, जोडले ल्याण्ड गर्ने तथा जहाजको निर्माता कम्पनीले बनाएको एसओपी पालना नगर्ने जस्ता लापरबाही गर्ने गरेको बताइन्छ ।

यस्ता लापरबाही गर्ने गरेकाले पाइलटहरु कारबाहीमा पर्ने गरेको प्राधिकरणले जनाएको छ । हवाई सुरक्षामा लापरवाही गर्ने पाइलटहरूलाई नागरिक उड्डयन नियमावली, २०५८ बमोजिम कारबाही गर्ने गरिएको छ ।

 

प्रतिक्रिया