

माओवादी कमाण्डर महरा : काण्डैकाण्डपछि गुमनाम

काठमाडौं–माओवादी युद्धका एक चर्चित कमाण्डर,कृष्णबहादुर महरा । शान्ती प्रक्रियामा माओवादी आएसँगै महरा सत्ताको केन्द्रमा रहे । पटक–पटक सत्ताको अवसर पनि पाए ।
माओवादी पार्टी टुटफुट र विभाजन हुन थालेपछि महरालाई पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक उत्तराधिकारीका रुपमा हेरिन थाल्यो ।
तर काण्डैकाण्डमा फस्दै गएपछि महाराको सामाजिक प्रतिष्ठा त घुमिल भयो नै माओवादीकै नेता–कार्यकर्ताको नजरमा पनि उनको हैसियत खुम्चिदै गएको छ ।
माओवादी उपाध्यक्ष रहेका महरा बदनाम हुँदै गुमनाम बन्न पुगेका छन् । उनी न कुनै कार्यक्रममा देखिन्छन् न त मिडियाले नै खोज्छ ।
युद्धका चर्चित कमाण्डर महरा विवादै–विवादमा मुछिए ।
आफ्नै विवादित काण्डले उनलाई लखेटिरह्यो ।
प्रचण्डका विश्वासपात्र महरा कसरी पतनको बाटोमा गए हेरौं,उनको बदनामित नालिबेली ।
माओवादीबाट सबभन्दा धेरै अवसर पाउने नेता हुन् महरा ।
पछिल्लो पटक चिनियाँ व्यापारीले इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत भित्र्याएको सुन छुटाउन उनले सहयोग गरेको आरोप लागेको थियो ।
भेपमा सुन ल्याएका चिनियाँसँग महरा र उनका छोराले पटकपटक टेलिफोनमा कुराकानी गरेको अनुसन्धानमा खुलेको थियो ।
प्रहरीले अनुसन्धानका लागि महरालाई पक्राउ पनि गर्र्यो । तर उनी सत्ताको दबाबमा चोख्याइयो ।
६ पटक मन्त्री भएका महराले गृह, अर्थ, परराष्ट्र, सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालय सम्हाले ।
सभामुख समेत भए । सभामुख भएकै बेला बलात्कारको आरोप लागेपछि पदबाट राजीनामा दिए ।
प्रहरी हिरासतमा बसे । अदालतबाट सफाई पाए ।
महरा सञ्चारमन्त्री हुँदा कौडीको भाउमा मोबाइल सेवाको लाइसेन्स वितरण गरेको आरोप छ ।
०६७ भदौ १८ गते महराले एक चिनियाँ व्यापारीसँगको गम्भीर अडियो टेप सार्वजनिक भयो ।
जसमा उनले सरकार निर्माण गर्न सांसदहरूलाई बाँड्नु पर्ने भन्दै ५० करोड मागेको अडिओ थियो ।
महराले माओवादी नेतृत्वमा सरकार बनाउन सांसद किन्न पैसा मागेको अडिओ बाहिरियो । तर त्यो अडियोमाथि कुनै अनुसन्धान भएन ।
०७४ सालको निर्वाचनपछि महराले प्रतिनिधि सभाको सभामुख भए ।
०७६ असोज १२ गते महरामाथि संसद् सचिवालयमै कार्यरत एक कर्मचारीले बलात्कार र कुटपिटको आरोप लगाउँदै प्रहरीमा उजुरी दिइन ।
सभामुख पदमा रहेकै बेला एक कर्मचारीको घरमै गएर रक्सी खाएर बलात्कार गरेको आरोप लागेपछि उनी पक्राउ परे ।
पीडित महिलाले अदालतमा बयान फेरेपछि महराले सफाइ पाए ।
महरा २०५८ र २०६० सालमा माओवादी र सरकारबीच दुई पटक भएका वार्तामा सहभागि थिए ।
पहिलो पटक वार्ता टोलीका संयोजक र दोस्रो पटक वार्ता टोलीका सदस्य भएका थिए ।
२०६२-०६३ सालको आन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आएपछि सबैभन्दा बढी लाभको पद लिनेमा पनि महरा नै पर्छन् ।
तर उनको राजनीति काण्डै–काण्डले घेरियो । अहिले उनी गुमनाम छन् ।

