निर्मला हत्याकाण्डका ७२ महिना : भेटिएन अपराधी, सिआइबी टोली फर्कियो


काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या ७२ महिना लाग्दा पनि हत्याराको पहिचान हुन सकेको छैन् ।

निरन्तर अनुसन्धानमा रहेको प्रहरीले अनुसन्धानमा सफलता हात नपार्दा सदनमा समेत पटक–पटक गृहप्रशासनमाथि प्रश्न उठ्दै आएको छ ।

०७५ साउन १० गते साथीकोे घरमा गृहकार्य गर्छु भन्दै गएकी निर्मला साउन ११ गते मृत अवस्थामा उखुबारीमा फेला परेकी थिइन ।

पोस्टमार्टम रिपोर्ट र अन्य परीक्षणबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

निर्मलाको हत्यापछि दोषीमाथि कारबाहीको माग गर्दै महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो । आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले चलाएको गोली लागेका १८ वर्षीय सनि खुनाको ज्यान गएको थियो ।

प्रहरीले ०७५ भदौ ४ गते भीमदत्त–१९, बाँगफाँटाका ३९ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो । तर, उनको डीएनए म्याच नभएपछि उनी रिहा भएका थिए ।

घटनाको अनुसन्धानमा लापरवाही गरिएको भन्दै एक दर्जन प्रहरीमाथि कारवाही समेत भएको थियो ।

अनुसन्धानमा हालसम्म दर्जनौँ टोली खटिइसकेका छन् । तर, कसैले पनि सफलता हात पार्न सकेका छन् । हत्याकाण्डको ७२ महिना लाग्दा पनि प्रहरी क्लुकै खोजीमा छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली सुरुवाती समयदेखि नै अनुसन्धानका लागि कञ्चनपुरमै खटिएको थियो । तर केही समयअघि सिआइबीको टोली काठमाडौं फर्किएको छ । अब कञ्चनपुर प्रहरीले नै घटनाको अनुसन्धान अगाडी बढाएको छ ।

प्रहरीले निर्मला प्रकरणमा एक हजारभन्दा बढी व्यक्तिसँग घटनाबारे सोधपुछ गरेको छ । ८० बढीको बढीको डीएनए परीक्षण गरेको छ । तर, कसैको पनि डीएनए म्याच भएन ।

डीएनए संकलन प्रक्रियामै त्रुटि रहेको विज्ञको सुझावपछि अहिले प्रहरीले म्यानुअल अनुसन्धानलाई नै प्राथमिकतामा राखेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतले भने,‘अब डीएनएलाई प्रमाण मान्न सकिने अवस्था छैन् । पेन्डीङ मुद्दाको रुपमा निर्मलाको केस पनि हेरिरहेका छौं । फाइल ओपन छ । अनुसन्धान जारी छ । तर अब डीएनए संकलन बन्द भैसक्यो ।’

प्रहरीले अनुसन्धानका लागि निर्मलाको गाउँ र आसपासका अरु गाउँका सबै घर र घरका सदस्यको विवरणसमेत संकलन गरेको थियो ।

प्रतिक्रिया