

वाइडबडीकाे सी-चेकमा भएको लापरबाही छानबिन गर्न समिति गठन

काठमाडाैं- नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सी चेकमा भएको लापरबाही तथा कम्पनी छनोटमा भएको लापरबाहीको विषयमा अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । प्रक्रियामा अनियमितता भएको आशंकामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति गठन गरेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर नेतृत्वको छानबिन समिति गठन गरेका हुन् । समिति सदस्यमा प्राधिकरणकै पूर्वमहानिर्देशक रतिशचन्द्र लाल रहेका छन्। समितिको सदस्यमा मन्त्रालयका एकजना प्रतिनिधि सदस्य सचिव रहने छन् । समितिमा थप एक जना विज्ञ र एक जना कानुनी जानकार सदस्य रहने छन् ।
मन्त्रालयले १५ दिनभित्रै जहाजको मर्मत सम्भार र सी-चेक प्रक्रियाको सम्पूर्ण विवरण समावेश हुनेगरि प्रतिवेदन पेसको समय दिएको छ ।
गत मंगलबार सी-चेकका लागि बिना अनुमति वाइडबडी जहाज दुबई हुँदै इटाली पुर्याएको भन्दै उड्डयन प्राधिकरणले निगमका अध्यक्ष युवराज अधिकारी, अपरेसन म्यानेजर तथा क्याप्टेन दिपु ज्वारचन, क्याप्टेन महेशमान डंगोल र रमन घिमिरेलाई समेत प्राधिकरणले ग्राउन्डेड गरेको छ । त्यस्तै, क्यामो म्यानेजर ज्ञानबहादुर कुँवरलाई समेत काममा रोक लगाइएको छ ।

