अनुसन्धान भइरहेकै बेला पत्नी लिएर अष्ट्रेलिया जाने योजनामा निगमका निलम्बित अध्यक्ष अधिकारी


काठमाडौं- वाइडबडी जहाज सी–चेक(विस्तृत मर्मत सम्भार)मा भएको लापरबाही तथा कम्पनी छनोटमा भएको लापरबाहीका कारण नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना निलम्बनमा परिसकेका छन् ।

गत मंगलबार सी–चेकका लागि बिना अनुमति वाइडबडी जहाज दुबई हुँदै इटाली पुर्‍याएको भन्दै नागरिक उड्डयन प्राधिकरणले निगमका अध्यक्ष युवराज अधिकारी, अपरेसन म्यानेजर तथा क्याप्टेन दिपु ज्वारचन, क्याप्टेन महेशमान डंगोल र रमन घिमिरेलाई समेत प्राधिकरणले ग्राउन्डेड गरेको छ । त्यस्तै, क्यामो म्यानेजर ज्ञानबहादुर कुँवरलाई समेत काममा रोक लगाइएको छ ।

त्यसै प्रक्रियामा अनियमितता भएको आशंकामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उक्त प्रकरणमा चासो देखाएर सम्पूर्ण कागजात मागेर अनुसन्धान थालेको छ ।

निलम्बनमा परेर आफूमाथि अनुसन्धान भइरहेका बेला नेवानिका अध्यक्ष अधिकारी भने निगमको खर्चमा श्रीमतीसहित अष्ट्रेलिया भ्रमणमा जान लागेका छन् । उनले कानूनी सल्लाहकार सुशिल पन्त, उनकी श्रीमती, सञ्चालक किशोर प्रधान, कर्मचारी टंक दाहाल, अशोक सिग्देल र दिपेन्द्र सुवेदीलाई समेत अष्टेलिया लैजान लागेकाे स्राेतले बताएकाे छ ।

उनीहरू आज शुक्रबार नै अष्ट्रेलिया जाने तयारीमा थिए । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मन्त्रालयले कागजपत्र माग गरेका कारण अष्ट्रेलिया उडानको तालिका केही दिनलाई सारेका छन् ।

अधिकारी निगमको अष्ट्रेलिया उडानका लागि आवश्यक तयारीको कामका लागि जाने प्रयोजन बनाएर अष्ट्रेलिया भ्रमणमा जान लागेकाे बताइएकाे छ । तर, अष्ट्रेलियाको उड्डयन नियमन निकायबाट उडानको अनुमति नभएसम्म कुनै तयारी गर्नुपर्ने देखिँदैन । त्यहाँको नियमन निकायसँग भेटघाट हुने तालिकासमेत छैन ।

यति मात्रै हाेइन अधिकारीले  तत्काल उडानको सम्भावना नै नभएको ठाउँका लागि सरुवा गरेका विपुला बराललाई १ जुलाइमा नै अष्ट्रेलिया पठाएका छन् । उनले आफूनिकट बराललाई एक महिनाको भत्ता पाउने गरी अष्ट्रेलिया पठाएका हुन् ।

याे पनि :

प्रतिक्रिया