आन्दोलनले जन्माएको नयाँ पुस्ताका अर्का ‘लिडर’


काठमाडौं– राजनीतिमा दुई खाले तस्बिर हुन्छ। साना पर्दा, छापा वा विद्युतीय माध्यममा जे देखिन्छ असलमा त्यति मात्र हुँदैन। मिडियामा यसरी देखिने कतिपय तस्बिर, बयान र वक्तव्यबाजीले मानिसलाई धारणा बनाउने सजिलो माध्यम हुन्छ। वास्तविकताको चित्र त्यो भन्दा फरक हुन्छन्।

फरक कसरी?

मूल विचारमा समानता तर सत्ताको व्यवाहारिकतामा अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादबीच नै यसको भिन्नता छुट्टिएको छ। एकीकृत भइसकेपछि बनेका विभिन्न संघ संगठनका युवा नेतृत्वबीचको आन्तरिक वैचारिक समानता र व्यवाहारले यसलाई पुष्टि गरिरहेको छ।

‘हामी वैचारिक रुपमा एकीकृत छौं। कुनै नेताको व्यवाहारका कारणले मात्र अलग हुने होइन अब तल्लो तहबाट एकीकरणका लागि पहल हुनुपर्छ’, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नेता रञ्जित तामाङलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका कसैले भनिरहेको थियो।

तामाङ सतहमा देखिँदा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएका पाइन्छ। लामो समयसम्म प्रचण्ड नेतृत्वकै पार्टीमा योगदान गरेका तामाङको यो लय स्वभाविक नै हो। उनले प्रचण्डपथमा हिँडेका कारण नै जेल बस्नु परेको थियो, संघर्षका दौरान गतिविधि गर्नु परेको थियो। उनलाई कुनै पक्षको भन्दा पनि त्यो संघर्ष र योगदान प्रतिको प्रेम हो।

तर्क वितर्क भनेका मुद्दामा हुन्छन्। उनी त्यहि गरिरहेका छन्। प्रतिनिधि सभा विघटन संविधानसम्मत थिएन भन्ने कुरामा कन्भिन्स भएकैले उनी आन्दोलनको मोर्चामा युवा विद्यार्थीको नेतृत्व गरी अग्रपंक्तिमा देखिए। सडकमा ठूला स्वरमा आन्दालन तताए पनि उनको मनभित्र चलिहन्थ्यो,‘पार्टी विभाजन नभएको राम्रो। कुनै अमुक नेताका लागि यसले क्षणिक स्वाद देला तर विद्यार्थी, युवाको भविष्य, भोलीको कम्युनिस्ट पार्टीको जीवनका लागि सुखद परिणाम हुनेछैन।’

यसैले पनि तामाङ नयाँ पुस्ताको लिडरका रुपमा उदय भएका छन्। तत्कालिन अनेरास्ववियु (क्रान्तिकारी)को नेतृत्वमा लोकतान्त्रिक प्रणालीमार्फत नै निर्वाचित अध्यक्ष तामाङ भन्छन्,‘मूल प्रश्न लोकतन्त्र जोगाउने, प्रणाली बचाउने र दोस्रोचाहिँ पार्टीको भविष्य कस्तो बनाउने भन्ने चिज चिन्ताको विषय हो।’

अहिले जुन विषयको संघर्षले उनी अग्रपंक्तिमा देखिएका छन्, युवा नेताका रुपमा गतिशील उदयमा छन् यसमा पनि कठोर संयोग छ। त्यो भनेको उनी पनि झापाली युवा हुन्। झापा आन्दोलनबाट उदाएका प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कमदविरूद्ध सडकमा दुई महिनासम्म निरन्तर सक्रिय देखिने तामाङको गृह जिल्ला पनि झापा नै हो।

उनी ठान्छन्– अहिले नै लिडर भइसकेको छैन। तर नयाँ पुस्ता ठान्छ– तामाङ नै युवा विद्यार्थीका निम्ति लिडर हुन् र भविष्यको जिम्मेवारीको नेतृत्व पनि उनैले गर्नुछ।

एकीकृत पार्टी विचारमा एक भए पनि दुई पक्षमा विभक्त छ। यस्तोमा कसरी अगाडि बढ्न सकिएला?

‘सैद्धान्तिक होइन, अहिलेको मूल समस्या व्यवाहारिक हो। यो व्यवाहारिक समस्यालाई कि संवादले कि योगदानले, कि आत्मसमिक्षाले सच्चिन सक्छ’, तामाङ भन्छन्,‘टकरवाले त कोही अमुक नेतालाई सफलता मिल्न सक्ला, या त्यो आत्मरती पनि रहला तर पराजय त कम्युनिस्ट भविष्य र पुस्ताको हुनेछ। यसमा गम्भीर भएर सोच्न र सच्चिन आवश्यक छ।’

कम्युनिस्टभित्र अहिले तिव्र बहसमा नआइसकेको विषय हो– पुस्तान्तरण। अहिलेको मुल समस्या र जडबारे बहस भइसकेको छैन। आन्तरिक विवाद र द्वन्द्वका कारण यो विषयको जोडदार बसह उठ्न सकेको छैन।

तैपनि नयाँ पुस्ता सहकार्य, सहमति र वैचारिक एकतामा हिँड्न तयार छ। बहस चलाउन र मन्थन गर्न तयार छ।

‘हामी नयाँ पुस्तामा मिलेर जाने प्रणमा छौं। नेपाल कम्युनिस्ट पार्टी, यसको आन्दोलन पुराना लिडरका लागि होइन, जसले यो जीवनमा कम्युनिस्ट आदर्शलाई मान्यो उसका लागि सुरक्षित हुनुपर्छ भन्ने मान्यतामा छौं’, प्रगतिशील सोच राख्ने तामाङ भन्छन्,‘युवा, विद्यार्थी अबको राजनीतिक नेतृत्वका लागि सक्षम छन् भन्ने विषयलाई हामीले आदर्श मानेका, नेतृत्व स्वीकारेका नेताले बुझ्न आवश्यक छ यहि बेला।’

सतहमा जस्तो तस्बिरको प्रचार भए पनि नेपथ्यमा कम्युनिस्ट आदर्शमा धेरै योगदान भएका छन्। १७ बर्षको उमेरदेखि राजनीतिमा सक्रिय रहेका तामाङ विद्यार्थी र युवाका लागि त्यहि बेलादेखि अनेरास्ववियुको केन्द्रीय समितिमा रहेर काम गरेका थिए। अब भने उनी अर्को पुस्तालाई विद्यार्थीको नेतृत्व हस्तान्तरण गर्दै पार्टी राजनीतिमा अगाडि उभिने लय समात्न चहान्छन्।

प्रतिक्रिया