


महोत्सवमा नाच्दानाच्दै पल शाहको ३ तोला सुनको ब्रासलेट हराएपछि…

कैलाली- कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा नायक पल शाह भनेर चिनिने पूर्णविक्रम शाहको ब्रासलेट हराएको छ । अस्ति (शनिबार) शाहको प्रस्तुति दिँदै गर्दा उनको करिब ३ तोला सुनको ब्रासलेट हराएको हो ।
स्टेज प्रस्तुतिका क्रममा उनकै फ्यानहरुले हात तानेर ब्रासलेट खोसेको बताइएको छ । तर, ब्रासलेट खोज्न सिसिटिभी हेरिएपनि अहिलेसम्म फेला नपरेको महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए।
शाहले ब्रासलेट हराएकोमा भने कुनै दुःख व्यक्त नगरेको र त्यसलाई धनगढीको मायाका रुपमा लिएको कुँवरले दाबी गरे।
महोत्सव कार्यक्रममा उद्घोषकले पनि नायक शाहको ब्रासलेट हराएको जानकारी गराएका थिए । यस विषयमा बुझ्न नायक शाहलाई सम्पर्क गर्न खोज्दा उनको फोन उठेन।
उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सवमा शनिबार १ लाख बढी दर्शक आएको बताइएको थियो।

