बालेनले आफ्नो कुरा नसुनेको भन्दै प्रधानमन्त्री आक्रोशित: पहिला बोलेर हिँड्नेसँग इरिटेसन हुन्छ


काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको जवाफ फर्काएका छन् ।

ललितपुर महानगरको १०५ औं स्थापना दिवसमा मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमणलगायको विषयमा संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए ।   प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले कुरा राखेका थिए । तर, आफ्ना कुरा राखेर मेयर शाह कार्यक्रमबाट निस्किएका थिए ।

मेयर शाहले आफ्ना कुरा राख्ने तर अरूका कुरा नसुन्ने गरेको भन्दै कार्यक्रमकै मञ्चबाट प्रधानमन्त्री दाहालले यसो गर्दा आफूलाई खिन्न बनाउने बताए । ‘अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘आफूले भन्ने कुरा जे-जे भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्नुपर्छ ।’

काठमाडौंको मेयर भएकाले उपत्यकाका ललितपुर र भक्तपुरसँग समन्वय गर्ने जिम्मेवारी बढी बालेनकै भएको उनको भनाइ छ ।

प्रतिक्रिया