‘माउण्टेनेरिङ’ कोर्समा युवाहरुको आकर्षण बढ्दै, कति लाग्छ खर्च ?


काठमाडौं – उमेरले २५ पुगेका भविष्य जंग थापा अन्नपूर्ण हिमाल रेन्जमा रहेको थोरङमा आरोहण गर्न सफल भए । गत असोज २५ गते उनीसँगै गएका १८ जनाले पनि ६ हजार १४४ मिटर अग्लो थोरङ चढेका थिए । पेम्बा गेल्जे शेर्पाको नेतृत्वमा गएका आफूहरु सफल रुपमा थोरङको चुचुरोमा पुगेको थापाले बताए । ‘हाम्रो टोलीको सबैभन्दा अगाडि म थिएँ, त्यस कारण थोरङको चुचुरोमा म पहिले पुगे । त्यहाँ पुग्दा लाग्यो मैले संसार जिते’ आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘एकदमै बबाल फिल भयो ।’

उक्त हिमाल चढ्नु उनले अध्ययन गरिरहेको ब्याचलर अफ माउण्टेनेरिङ स्टडिस (बिएमसी) अन्तर्गतको प्रयोगात्मक परीक्षा थियो । अब उनले ७ हजार मिटर अग्लो हिमाल (पीक) चढुनुपर्ने छ । त्यसपछि मात्रै उनको कोर्स पूरा हुनेछ । तर, त्यो सँगै उनले थेसिस लेखन पनि पूरा गर्नुपर्ने छ । ‘म सँग हिमाल चढेको अनुभव भएकाले अब विदेशतिर जाने सोच बनाएको छु’ उनी भन्छन्, ‘त्यहि आफ्नो आगामी अध्ययन गर्ने र काम गर्ने लक्ष्य छ।’

हाल उनी नेपाल माउण्टेन एकेडेमीमा अध्ययनरत छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले नेपालमा पर्वतारोहणसम्बन्धी अध्यापन तथा तालिम दिइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको नेपाल माउण्टेन एकेडेमीले प्रतिष्ठानको सोही शैक्षिक कार्यक्रममै रहेर अहिले ब्याचलर अफ माउण्टेनेरिङ स्टडिस (बिएमएस), मास्टर्स इन माउण्टेनेरिङ साइन्स (एमएससी) र मास्टर इन एडभेन्चर टुरिजम (एमएटिएस) गरी तीन प्रकारका पाठ्यक्रम अध्यापन गराइरहेको छ ।

पर्वतीय पर्यटनसम्बन्धी अन्तराष्ट्रियस्तरको शैक्षिक कार्यक्रमलाई त्रिभुवन विश्वविद्यालयले २०७३ माघ २५ गते सम्बन्धन स्वीकृत गरेको थियो । त्यसपश्चात शैक्षिक कार्यक्रम सुरु गरेको माउण्टेन एकेडेमीबाट स्नातक गरेर एउटा ब्याच पास आउट भइरहेको छ । पहिलो ब्याचमा रहेका १४ जनामध्ये १२ जनाले नेपालकै विभिन्न संस्थामा रोजगारी पाएको एकेडेमीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी हिमाल पण्डितले बताए । उनका अनुसार बाँकी २ जनामध्ये एकजना विदेश गइसकेको र अर्को एक जना जाने तयारीमा छन् ।

पहिलो ब्याचपछि माउण्टेनेरिङमा आकर्षण बढेको भन्दै उनले दोस्रो ब्याचमा २८ जना अध्ययनरत रहेको जानकारी दिए । ‘अहिलेको ब्याचका पनि पास आउट हुने तयारीमा छन् । अब उनीहरुको थेसिस र एउटा प्रयोगात्मक परीक्षा बाँकी छ’ उनले भने ।

प्रयोगात्मक अध्ययनका क्रममा विद्यार्थीले सातौं र आठौं सेमेष्टरमा ६ हजार र सात हजार मिटरको हिमाल (पिक) आरोहण गर्नुपर्नेछ । प्रयोगात्मक अध्ययनका क्रममा विद्यार्थीले सातौं र आठौं सेमेष्टरमा ६ हजार र सात हजार मिटरको हिमाल (पिक) आरोहण गर्नुपर्नेछ । यस्तै विभिन्न ‘रक क्लाइन्बिङ, रेस्क्यू र फस्टऐड सम्बन्धी तालिम समेत ती पाठ्यक्रममा दिइने गरिएको छ ।

कति लाग्छ खर्च ?

३३ जनाको कोटा रहेको आठ वटा सेमेष्टर हुने ब्याचलर अफ माउण्टेनेरिङ स्टडिस (बिएमएस) गर्न जम्मा ६ लाख खर्च हुने एकेडेमीका सूचना अधिकारी हिमाल पण्डितले बताए । त्यस्तै ४/४ वटा सेमेष्टर रहेको एमएससी र एमएटिएस पढ्न ४/४ लाख लाग्ने उनले जानकारी दिए । एमएससीमा २९ जना र एमएटियसमा ३५ जना विद्यार्थी भर्ना हुन पाउने बताइएको छ ।

उक्त कोर्स पास गरेपछि माउण्टेन गाइड, रिसर्च तथा विभिन्न एकेडेमी अवसर पाइने एकेडेमीले जनाएको छ ।

प्रतिक्रिया