जगदम्बा-श्री टेकवीर मुखिया र मदन पुरस्कार विवेकको ‘ऐंठन’लाई


काठमाडाैं – जगदम्बा-श्री सम्मान टेकवीर मुखियालाई र मदन पुरस्कार विवेक ओझाको ऐंठन उपन्यासलाई प्रदान गरिने भएको छ।

आज बिहान बसेको मदन पुरस्कार गुठीको बैठकले २०७९ सालको जगदम्बा-श्री सम्मान कलाकार मुखियालाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए। अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्रमार्फत साहित्यानुरागी माझ पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएकाले मुखियालाई जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरिएको अध्यक्ष दीक्षितले बताए।

मुखियाले लामो समय साझा प्रकाशनमा आबद्ध भएर पुस्तकका कभर डिजाइन गरेका थिए। उनी ६ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्।

त्यस्तै, २०७९ सालको मदन पुरस्कार ओझाको ऐंठन उपन्यासलाई प्रदान गर्ने निर्णय भएको छ। विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्‍न र अहिले पनि त्यस दुःस्वप्‍नले ऐँठनका पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा ओझाको ऐंठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय भएको गुठीले जनाएको छ।

लेखक ओझाको यो तेस्रो पुस्तक हो। यसअघि उनका ऐलानी र एक पाइला आकाशमा पुस्तक प्रकाशित छन्।

यसअघि मदन पुरस्कार गुठीले श्रेष्ठ सूची प्रकाशित गरेको थियो। जसमा सुविन भट्टराईको इजोरिया, ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटोको घर पुस्तक समावेश थिए। त्यसमध्ये ऐंठनले मदन पुरस्कार प्राप्त गरेको हो।

२०७९ सालको मदन पुरस्कारका लागि ३१३ पुस्तक प्राप्त भएको गुठीले जनाएको छ। दुवै पुरस्कारको राशी चार-चार लाख रुपैयाँ रहेको छ।

२०७८ सालको जगदम्बा-श्री सम्मान भाषा-साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठलाई र मदन पुरस्कार नवराज लम्सालको ‘अग्नि’ महाकाव्यलाई प्रदान गरिएको थियो। जगदम्बा-श्री २०४५ सालबाट र मदन पुरस्कार २०१३ सालबाट प्रदान गरिँदै आएको छ।

नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा-श्री सम्मान अर्पण गरिन्छ।

प्रतिक्रिया