कांग्रेस सह-महामन्त्री पाण्डे भन्छन्, ‘शान्तिका अग्रदूत बुद्धस्थलमा आपराधिक कृत्यमा संलग्न व्यक्तिको नियुक्ति खारेज होस्’


काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादित व्यक्ति ल्यारक्याल लामाको नियुक्तिप्रति विरोध जनाएका छन् ।

सरकारले आइतबार विभिन्न विवादमा मुछिएका व्यक्ति लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएपछि सहमहामन्त्री पाण्डेले आपराधिक गतिविधिमा मुछिएका व्यक्तिलाई लुम्बिनी विकास कोष जस्तो पवित्रस्थलको जिम्मेवारी दिन नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् सरकारको उक्त कार्यप्रति खेद प्रकट गदै लेखेका छन्, ‘शान्तिका अग्रदूत गौतम बुद्धको पावन जन्मथलो लुम्बनीको चौतर्फी विकासका लागि गठित निकाय लुम्बिनी विकास कोषको उपाध्यक्षमा बैंकका लकरमा गोली राख्ने लगायत अनेक आपराधिक कृत्यमा मुछिएका व्यक्तिको नियुक्ति खेदजनक छ । यस पकारको अत्यन्त अनुचित निर्णय तत्काल खारेज गरी संस्थाको मर्यादा मुताविक कार्य सञ्चालन  गर्नसक्ने सत्पात्रको नियुक्ति गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’

सरकारले कोषको उपाध्यक्षमा नियुक्ति गरेका ल्यारक्यार लामो दर्जनौं विवादमा मुछिएका व्यक्ति हुन् ।

उनी दोहोरो नागरिकता, वैदेशिक रोजगार, राहदानी लगायतका अभियोगमा उनी पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् ।

त्यस्तै २०५८ मा ल्यारक्याल लामालाई तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले गुम्बा व्यावस्थापन समितको अध्यक्षमा नियुक्ति गरेका थिए ।

अमेरिकाबाट गुम्बा विकासमा टन्न सहयोग ल्याउँछु भनेपछि उनलाई सिन्धुपाल्चोकका नेता मोहन बस्नेतले कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का मार्फत अध्यक्षमा नियुक्ति गराएको थियो । उनले गुम्बा निर्माणका लागि अमेरिका एक महिलासँग ५० हजार डलर ल्याएर ठगी गरेको समेत बाहिरिएको थियो ।  त्यस्तै उनीमाथि खेम्पोको उपाधि नपाउँदै खेम्पो बनेर ठगी गर्ने गरेको पनि भन्ने गरिएको छ ।

०६३ पछि फेरि उनी कांग्रेससँग निकट भएर सभासद् हुने खेलमा लागे । तर, सभासद् हुने संभावना नदेखेपछि एमालेमा लागे । सिन्धुपाल्चोक एमालेका नेता मार्फत उनले पार्टीको ठूला नेतासँग हिमचिम बढाए ।

अमृत बोहोरा र ईश्वर पोखरेल मार्फत एमालेको समानुपातिक सभासद भए । सभासद् हुँदा उनलाई धेरै एमाले नेताहरुले नै चिन्दैनथे । दोस्रो संविधानसभामा पनि एमालेबाटै सभासद बन्ने योजनामा थिए । तर, एमालेभित्र पहिलेको विवादका कारण नेताहरु जोखिम मोल्न तयार भएनन् ।

त्यसकारण उनी माओवादी केन्द्रतिर लागे । समानुपातिकको सूची बुझाउने अघिल्लो दिन उनी माओवादी प्रवेश गरे । माओवादीको चुनावमा राम्रो मत नआएपछि उनी समानुपातिक सभासद् बन्न पाएनन् ।

तर, पछि संविधानसभा अदालतले ५ कार्त्तिक ०७१ मा सभासद् शम्भु हजारा पासवानको पद खारेज गरेपछि ल्यारक्याललाई माओवादीले सांसद बनाएका थिए ।

 

प्रतिक्रिया