काठमाडौं आउँदै गरेको यात्रुवाहक इभी दुर्घटना, ९ जना घाइते


काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित गुरुङगाउँमा आइतवार एक यात्रुवाहक विद्युतीय माइक्रोबस(इभी) दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

त्रिशूलीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३००१ज०८५४ नम्बरको माइक्रोबस सडकबाट करिब १० मिटर तल खस्दा पाँच महिला र चार पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घाइतेहरूको सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार गरी काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारका लागि पठाइएको छ।

घाइतेहरूमा नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाकी ३९ वर्षीया मैना राई, काठमाडौं महाराजगंजकी ४६ वर्षीया लक्ष्मी खड्गी, गोंगबुकी ३५ वर्षीया सिर्जना लामा, विदुर नगरपालिका–५ माझिटारकी १८ वर्षीया बिपना अर्याल, शिवपुरी तलाखुका २८ वर्षीय रसमान लामा, त्यहीँका १८ वर्षीय विजय लामा, काठमाडौं कलंकी बस्ने ३९ वर्षीया सरस्वती राई, ३८ वर्षीय श्याम दगौरा, र रसुवाको उत्तरगया गाउँपालिका–५ का २५ वर्षीय महेन्द्र श्रेष्ठ छन्।

माइक्रोबस चालक ३६ वर्षीय रवि बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) विक्रम लामाले जानकारी दिए।

प्रतिक्रिया