
नेपालमा पहिलोपटक ब्रेनडेथ भएका व्यक्तिबाट एकै बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण
काठमाडौं- नेपालमा अंग प्रत्यारोपणको इतिहासमै नयाँ उपलब्धि हासिल भएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका एक १८ वर्षीय युवकको मिर्गौला र कलेजो तीन जना बिरामीमा प्रत्यारोपण गरेर जीवनदान दिएको छ।
तीन अंगमध्ये एक मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक तथा प्रत्यारोपण शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार यस्तो जटिल शल्यक्रिया विश्वमै दुर्लभ मानिन्छ। अर्को मिर्गौला भने ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको हो।
यस ऐतिहासिक उपलब्धिले नेपालमा अंग प्रत्यारोपण प्रणाली सक्षम हुँदै गएको स्पष्ट पारेको छ। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त अंगहरूले समयमै उपयोग गर्न सकिएमा कयौं बिरामीको जीवन बचाउन सकिने सम्भावना प्रस्टिएको डा. श्रेष्ठको भनाइ छ।
युवकको अंग काठमाडौं मेडिकल कलेजले सुरक्षित तरिकाले संकलन गरेको थियो भने प्रत्यारोपणको नेतृत्व डा. पुकार चन्द्र श्रेष्ठले गरेका थिए। यसमा विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरूको टोली संलग्न रहेको थियो। जसमध्ये कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. प्रविण महर्जन तथा मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा लगायतको सक्रिय सहभागिता थियो।
नेपालमा हालसम्म १५ जना मस्तिष्क मृतकबाट अंग संकलन गरिएर १६ जना बिरामीको सफल प्रत्यारोपण भइसकेको छ। डा. श्रेष्ठ भन्छन्, “एक मस्तिष्क मृत्यु भएको व्यक्तिबाट आठ जनासम्मको जीवन बचाउन सकिन्छ। अंगदान भन्दा ठूलो मानवता र योगदान हुन सक्दैन।”



कागजपत्र |
