

सेन्ट्रल जेलमा यसरी मौलाउँदैछ लागूऔषधदेखि अनलाइन जुवासम्मको धन्दा, जेलरविरूद्ध जताततै उजुरी

काठमाडाैं – केन्द्रीय कारागार सुन्धारामा कैदी-बन्दीहरूलाई ब्यापक शोषण र दमन गर्दै ‘अवैध धन्दा’ मौलाइरहेको भन्दै त्यहाँका केही कैदी-बन्दीले गृहमन्त्रालय तथा कारागार व्यवस्थापन विभागमा उजुरी दिएका छन्।
उनीहरूले जेलर तथा नाइके र त्यहाँका चौकीदारहरू मिलेर कैदीमाथि दमन, शोषण र त्यहीँबाट अवैध कामहरू गरिरहेको विवरणहरू पनि मन्त्रालय र विभागलाई दिएका छन्। त्यो उजुरी अख्तियारसम्म पुगिसकेको छ। मन्त्रालयले उजुरी दर्ता पनि गरिसकेको छ।
उजुरीमा उल्लेख भएअनुसार चौकिदार शान्ती तामाङ, हस्पिटल नाईके कोपिला मगर, हेडमास्टर निशा खिनाललगायतको मिलोमतोमा कारागारभित्रै लागुऔषध, चुरोट र मदिरा बेचबिखन गर्ने गरिएको छ। त्यसमा मूल नाइके रमेश भनिने बै लामाको पनि संरक्षण रहेको उजुरीमा उल्लेख छ।
कारागार भित्र यसरी लुटतन्त्र मच्चाउँदै आएकाहरुलाई जेल प्रशासनलेनै संरक्षण दिएको स्रोतको दाबी छ। स्रोतका अनुसार कारागारभित्र अवैध धन्दा चलाउनेहरुलाई कारागार प्रमुख ललित बस्नेतले नै संरक्षण दिएका छन्। उनले भित्र बेथितीको बारेमा बोल्नेलाई अन्यत्र कारागार चलानको धम्की दिने गरेका छन्।
उजुरीमा उल्लेख भएअनुसार कारागारको प्रशासन जेलर भवनमा मुल नाईके, चौकिदार, वैदार, ठुलो वैदार जस्ता कैदीबन्दीहरुको कारागार प्रशासनको जेलर भवनसम्म सहज रुपमा आउन पाउँछन्। उनीहरू कारागार प्रशासन जेलर भवनमा आउँदा र जाँदा पनि चेक-जाँच हुँदैन। जसले गर्दा कैदीबन्दीलाई भेटघाट गर्ने वहाना बनाई बाहिरबाट आएको व्यक्ति र मुल नाईके, चौकिदार, वैदार, ठुलो वैदारजस्ता कैदीबन्दीहरुको सहज भेटघाट हुने गर्छ। यसैको फाइदा उठाउँदै मुल नाईके, चौकिदार, वैदार, ठुलो वैदारले कारागारभित्र लागु औषध, चुरोट र मदिरा भित्र्याउँछन् र १०औं गुणा महंगोमा कारागारका अन्य कैदी बन्दीलाई विक्री वितरण गर्ने गरेको जनाइएको छ ।
त्यस्तै कारागारका क्यान्टिन तथा पसलहरूमा पनि कैदी बन्दीहरूबाट ३ गुणाभन्दा महंगोमा सामान बेचिन्छ। उजुरीमा बताइएअनुसार कारागारभित्र कैदी बन्दीको लागि मेस तथा होटल संचालन गर्नेले सिधै बजारबाट खाद्यान्न तथा तरकारी खरिद गर्न दिइदैंन। तरकारी तथा खाद्यान्न पसल कैदीबन्दी चौकिदार प्रभाकर नरसिंह राणा र किराना पसल प्रितम मानन्धरले सञ्चालन गर्दै आएका छन्। मेस तथा होटललाई खरिद मुल्यभन्दा ३ गुणा बढी लिएर बिक्री गर्छन्। जसले गर्दा होटल तथा मेसमा पाईने खानेकुरा महंगो हुनेगर्छ। परिणाम सरकारले प्रतिकैदीलाई दिएको भत्ताले मेसमा खाएको तिर्न पुग्दैन। फलस्वरुप कैदी बन्दीले घर परिवारबाट खर्च मगाउन बाध्य छन्।
त्यसैमाथि आफन्तहरूले कैदी-बन्दीलाई दिएको रकम पनि उनीहरू ५० प्रतिशतभन्दा ‘कमिसन’ काट्ने गरेका छन्। उनीहरूका अनुसार कैदी बन्दीका आफन्तले कैदीलाई रुपैयाँ पैसा दिन चाहे सिधै कैदीलाई दिन पाउँदैनन्। मूल नाईकेले त्यसदिन खटाएको कैदी (जसलाई स्टाफ भनिन्छ) को हातमा दिनुपर्छ। उक्त रकम स्टाफ बसेको कैदी मार्फत् पाएपछि मुल नाईकेले कमिशनको नाममा ५० प्रतिशत रकम उठाउने गरेका छन्।
उजुरीकर्ताहरूका अनुसार जेलभित्रै मिटर ब्याज, अनलाइन जुवा ९वेटिङ०लगायतका धन्दाहरू पनि मौलाउँदै गएका छन्। उनीहरूले आफ्नो उजुरीमा लेखेका छन् -कारागारभित्र कैदी बन्दीलाई रुपैया पैसा उधारो लिन उकास्ने र त्यस्तो रुपैया पैसाको रु १०० बरावर मासिक ५ रुपैयाँका दरले हिसाव गरी मिटरव्याज उठाउने गरेका छन्।
त्यस्तै जेलमा भएका विकृती र विसंगती तथा त्यस्ता अवैध धन्दाहरूको विरोध गर्ने कैदी बन्दीलाई धम्क्याउने, मानसिक र शारिरीक यातना दिने तथा सरुवा गर्ने र रोक्नेजस्ता कामहरू पनि हुँदै आएका छन्। उजुरीकर्ताहरूले कैदीहरूको सरुवामा पनि व्यापक पैसाको चलखेल भइरहेको पनि लगाएका छन्।
‘निषेधित बस्तुको विकि वितरण र महङ्गीको विरोध गर्ने उपर चौकिदार प्रभाकर नरसिंह राणा, मुल नाईके रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतम मानन्धर समेत भई शारीरिक तथा मानसिक यातना दिने तथा जेलरसँग मिली जेल स्थान्तरण समेत गर्ने गरेका छन्।
हालसालै दिपकराज दाहाललाई नख्खु कारागार र खेम बहादुर डाँगीलाई नेपालगञ्ज कारागारमा चलान गरिएको छ। ‘विकृतिविरुद्ध बोलेको कारणले कुटपिट समेतको शारीरिक यातना दिई निजहरुलाई चलान गर्ने गरेका छन्’ उजुरीकर्ताले भनेका छन् ‘चौकिदार तामाङ, हस्पिटल नाईके मगर, हेडमास्टर खिनालसमेत भई पुराना कैदीहरुलाई जेलबाट सरुवा रोकिदिने भनि १ लाख देखि २ लाखसम्म रकम उठाउने गर्छन् र उक्त रकम जेलरसम्म पुर्याई कैदीको कारागार सरुवा रोक्नेसम्मको काम हुने गरेको छ।’

