

हजारौं कर्मचारी निकाल्दै ठूला टेक कम्पनी, नयाँ भर्नामा एप्पलको प्रतिबन्ध

काठमाडाैं – पछिल्ला केही महिनामा माइक्रोसफ्ट, ट्विटर, फेसबुकजस्ता ठूला टेक कम्पनीहरूले आफ्ना हजारौं कर्मचारीलाई बर्खास्त गरिदिएका छन्।
गुगल, अमेजन, फेसबुकजस्ता कम्पनीले धमाधम आफ्ना कर्मचारी निकाल्ने क्रममा छन्। यस्ता कम्पनीहरूबाट केही महिनामै ८० हजार जनशक्तिले जागिर गुमाउनुपरेको छ। गुगलका सीईओ सुन्दर पिचाईले १२ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेका छन् ।
गुगलको यो कार्य संसारका ठूला प्राविधिक कम्पनीहरूमा भएको कर्मचारी कटौतीको सबैभन्दा ठूलो हो। ट्विटरले नोभेम्बरमा आफ्ना ५० प्रतिशत कर्मचारीहरूलाई हटाएको छ।
नोभेम्बर २०२२ मा पहिलो ठूलो टेक कम्पनी ट्विटरले एकैसाथ ३८०० कर्मचारीहरूलाई हटाउने घोषणा गरेको हो। यो संख्या ट्विटरमा काम गर्ने कुल कर्मचारीको ५० प्रतिशत हो। त्यसको केही दिनपछि एलोन मस्कले ४,५०० जना करारमा कार्यरत कर्मचारीलाई निकालेका थिए ।
फेसबुकले पनि एकैपटक ११ हजार कर्मचारीलाई बर्खास्त गरेको छ। नोभेम्बर २०२२ मा नै फेसबुकको मूल कम्पनी मेटाले एकै पटकमा ११,००० कर्मचारीहरूलाई हटाउने घोषणा गरेको थियो। निकालिएका कर्मचारीलाई विनासूचना अचानक बर्खास्त गरिएको हो । आफ्नो खातामा आफ्नो विवरण लगइन नभएको अवस्थामा आफूलाई बर्खास्त गरिएको उनीहरूले आरोप लगाएका छन्।
मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना कर्मचारीहरूलाई कामबाट निकाल्नेबारे जानकारी दिँदै ठूला टेक कम्पनीहरू कठिन समयबाट गुज्रिरहेको बताएका छन्। कम्पनीलाई नाफा आर्जन गर्न गाह्रो भइरहेको उनले बताए। यस्तो अवस्थामा कर्मचारीलाई बर्खास्त गर्ने यो निर्णय कम्पनीको बाध्यता बनेको उनको भनाइ थियो।
अमेजनले पनि १८,००० कामदारलाई हटाएको छ भने अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी एप्पलले हाललाई नयाँ कर्मचारी भर्तीमा प्रतिबन्ध लगाएको जनाएको छ। ट्विटर र फेसबुकबाहेक अमेजन १८००० कर्मचारीहरूलाई हटाउने तेस्रो ठूलो कम्पनी बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यस्तोमा स्न्यापच्याट र माइक्रोसफ्टको नाम पनि छ।
गुगलजस्ता कम्पनीमा काम छोड्ने प्रभाव कम हुने विश्वास व्यक्त गरे पनि डिजिटल विज्ञापनबाट हुने आम्दानीमा कमी आएपछि गुगल पनि कम्पनीमा कटौतीमा सामेल भएको बताइएको छ । सन् २०२२ मा कुल ५० ठूला टेक कम्पनीहरूले विश्वभर १ लाख मानिसहरूलाई निकालेका छन्।

