

लालू यादवले जेठा छोरा तेजप्रतापलाई पार्टी र परिवार दुवैबाट निकाले

नयाँ दिल्ली- भारतकाे राष्ट्रिय जनता दल (आरजेडी)का अध्यक्ष लालू प्रसाद यादवले आफ्नो जेठा छोरा तेजप्रताप यादवलाई पार्टी र परिवार दुवैबाट निष्कासन गरेका छन्।
लालू यादवले विज्ञप्ति जारी गर्दै भनेका छन्, “व्यक्तिगत जीवनमा नैतिक मूल्यको उल्लंघनले सामाजिक न्यायका लागि गरिएको हाम्रो सामूहिक संघर्ष कमजोर हुन्छ। जेठो छोराको गतिविधि, लोक आचरण र गैर-जिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्य र संस्कार अनुरूप छैन।”
उक्त कारण देखाउँदै उनले तेजप्रतापलाई तत्काल प्रभावबाट पार्टी र परिवार दुवैबाट टाढा राख्ने निर्णय गरेको जनाएका छन्। “अबदेखि पार्टी र परिवारमा उनको कुनै भूमिका रहनेछैन,” यादवले भने, “उनी ६ वर्षका लागि पार्टीबाट निष्कासन गरिएको छ। उनी आफैंले आफ्नो निजी जीवनको भलो-बेहो र निर्णय लिनसक्ने छन्।”
यो निर्णय पछाडि सामाजिक सञ्जालमा भाइरल भएको एउटा विवादास्पद पोस्ट मुख्य कारण बनेको हो। हालै तेजप्रताप यादवले आफ्नो फेसबुक पेजमा एक महिलासँगको फोटो पोस्ट गर्दै आफू विगत १२ वर्षदेखि ती महिलासँग सम्बन्धमा रहेको दाबी गरेका थिए। पोस्ट सार्वजनिक भएको केही घण्टामै सामाजिक सञ्जालमा भाइरल बन्यो र मानिसहरूले उनको वैवाहिक जीवनबारे चर्को टीका टिप्पणी गर्न थाले।
तेजप्रतापको विवाह पूर्व मुख्यमन्त्री दरोगा रायकी नातिनी ऐश्वर्या रायसँग भएको थियो। दम्पतीबीचको सम्बन्ध पछि विग्रिएपछि उनीहरू अलग भएका छन् र हाल उनीहरूको सम्बन्धविच्छेद सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ।
विवाद बढेपछि तेजप्रतापले स्पष्टीकरण दिंदै आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको र ती पोस्ट आफूले नगरेको दाबी गरे। उनले फोटो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट बनाइएको भन्दै पोस्ट हटाए र समर्थकहरूलाई अफवाहमा नपर्न अपिल गरे। तर यस घटनाले पार्टी र परिवार दुबैको छवि धुमिल पारेको भन्दै लालू यादवले कठोर कदम चालेका हुन्।
लालूले सार्वजनिक रूपमा तेजप्रतापको गतिविधि र आचरण पारिवारिक मूल्यविपरीत रहेको भन्दै उनलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका हुन्। साथै, उनले तेजप्रताप अब परिवारकै अंग पनि नरहने स्पष्ट पारेका छन्।

