

अप्ठ्यारो समयमा सहकारीलाई धेरै कडाई गर्दा समस्या आउन सक्छ– रजिष्ट्रार

काठमाडौं – सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुलाई अप्ठ्यारो परेको अवस्थामा धेरै कडाई गर्दा झन् समस्या उत्पन्न हुनसक्ने भएकाले आफू नियामकीय भूमिकामा उदार भएर प्रस्तुत भएको बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको १२ औं वर्ष प्रवेशको अवसरमा आइतबार आयोजित कार्यक्रममा रजिष्ट्रार पण्डितले अवस्था सामान्य भएपछि सबै सहकारीको नियमनमा कडाई गरिने बताए । उनले अहिले विभागले केन्द्रीय संघहरुको शुद्धीकरणलाई प्राथमिकतामा राखेर कडाईका साथ नियमन गरिरहेको बताए ।
सहकारी विभागले ६ वटा निष्क्रिय केन्द्रीय संघहरुलाई विवरण बुझाउन सूचना जारी गरेपनि हालसम्म दुई वटा संघले मात्र प्रतिवेदन बुझाएको जानकारी दिए । उनले भने ‘दुईवटा केन्द्रीय संघको प्रतिवेदन अध्ययनको क्रममा छ । बाँकी चार वटा कठिन अवस्थामा छन् ।’
उनले सहकारी ऐन, २०७४ को दफा ८ र ७३ बमोजिमको विवरण नबुझाउने संघहरुविरुद्ध विभाग एक्सनमा जाने चेतावनी दिए । सहकारीमा देखिएको समस्याबारे धेरै हल्ला फैलिएकाले पनि संस्थामा बचतकर्ताहरुको लाईन लागेको उनले बताए ।
हल्लाको भरमा आवधिक बचतको पैसा फिर्ता माग्न जाने प्रवृत्तिले गर्दा पनि समस्या उत्पन्न भएको उनले बताए ।
राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बैंक वित्तीय संस्थाले तरलताको अभाव टार्न ल्याएको अस्वभाविक स्किमले गर्दा सहकारी क्षेत्रको तरलता प्रभावित भएको बताइन ।
‘मैले आजसम्म बैंकले २० वर्षमा १० गुणा पैसा दिन्छु भनेर स्किम ल्याएको देखेको थिईनँ,’ उनले भनिन्, ‘यही स्किमले सहकारी क्षेत्र पीडित भएको हो । सहकारी सदस्यहरुको स्वनियमन र नियन्त्रणमा संचालन हुने संस्था भएकाले समस्या उत्पन्न हुनुमा संचालकका साथै सदस्य पनि दोषी छन्’, वरिष्ठ उपाध्यक्ष मल्लले भनिन् ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले मुलुकको वित्तीय बजारमा बैंक वित्तीय संस्थाहरुले सुरु गरेको अस्वस्थ प्रतिस्पर्धाका कारण तरलताको अभाव सिर्जना भएको बताए ।
‘अघिल्लो दिन ७ प्रतिशत व्याजदर भएका वाणिज्य बैंकले भोलिपल्ट ११ प्रतिशत पु¥याए । बैंकहरु कस्ले जग्गा बेचेको छ, कोसंग पैसा छ भन्ने खोज्दै संस्था संस्थामा पुगे,’ उनले भने, ‘यस्तो अस्वस्थ प्रतिस्पर्धाले सहकारीमा पनि समस्या ल्याएको हो ।’
कानुनअनुसार १० देखि २० प्रतिशत सम्म तरलता राखेका सहकारीमा पनि अत्याधिक बचत फिर्ताको माग आउँदा समस्या उत्पन्न हुनसक्ने उल्लेख गर्दै उहाँले बचत फिर्ता गर्न नसक्ने सहकारीका संचालकलाई जेलमा थुनेर समस्या समाधान नहुने जिकीर गरे ।
सहकारी बैंकले नियमित कारोबार गर्ने सदस्य संस्थाहरुको तरलता पाँच प्रतिशत भन्दा कम भएको अवस्थामा कर्जा दिनका लागि ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको उनले जानकारी दिए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा बजारमा चर्चा गरेजति समस्या नरहेको बताए ।
संस्थाका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वअध्यक्ष यादव हुमागाई, डिल्ली सापकोटा र खिलानाथ दाहालले धारणा राखेका थिए ।
सम्मान तथा पुरस्कार वितरण
सिजेएनले १२ औं स्थापना दिवसको अवसर पारेर सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार र संस्थापक सम्मान समेत प्रदान गरेको छ ।
समाजले यसवर्ष कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार सुदिप पोखरेललाई सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको हो । उनलाई प्रमुख अतिथि सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले नगद २० हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरे ।

