

ट्रम्पको आदेशपछि नेपालमा एमसीसी परियोजना रद्द, ५० करोड डलरको अनुदान सहयोग बन्द हुँदै

काठमाडौं – नेपालसहित विकासशील देशहरूसँग आर्थिक सहकार्य गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि बन्द हुने भएको छ । अमेरिकी सञ्चार माध्यम सीएनएन र समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकी सरकारले एमसीसी परियोजना ‘व्यवस्थित रुपमा बन्द’ गर्ने तयारी गरेको छ ।
बुधबार एमसीसीका कर्मचारीहरूबीच भएको बैठकमा एक कार्यकारी अधिकारीले परियोजना केही महिनाभित्र पूर्ण रूपमा बन्द गरिने जानकारी दिएका छन् । एलन मस्कको नेतृत्वमा रहेको अमेरिकी सरकारी दक्षता विभागले एमसीसीमा ‘महत्वपूर्ण खर्च कटौती’ गर्न लागिएको जानकारी दिएकै कारण सो निर्णय लिइएको हो ।
एमसीसी परियोजना अन्तर्गत नेपालमा ५० करोड अमेरिकी डलर बराबरको अनुदान सहयोगमा सडक तथा विद्युत प्रसारण लाइन निर्माणको काम एमसीए नेपाल मार्फत अघि बढाइएको थियो । परियोजना बन्द भएपछि यी कामहरू अब रोकिने निश्चितप्रायः भएको छ ।
एमसीसीले भोलि शुक्रबार साझेदार मुलुकहरूलाई औपचारिक रूपमा ४० दिनभित्र सबै परियोजना बन्द गर्ने सूचना दिने तयारीमा रहेको बताइएको छ । यसअघि एलन मस्कको टिमसँगको छलफलपछि नेपाल, आइभोरी कोस्ट, मंगोलिया र सेनेगलमा परियोजनालाई निरन्तरता दिने भनिए पनि अब त्यो सम्भावना समाप्त हुने देखिएको छ ।
ट्रम्प प्रशासनले अगाडि सारेको खर्च कटौती नीतिको कारण यो निर्णय लिइएको हो, जसले नेपालजस्ता विकासशील मुलुकहरूमा अमेरिकी अनुदान सहयोगमा भइरहेको पूर्वाधार विकास कार्यमा गम्भीर असर पार्ने अनुमान गरिएको छ ।

