सुन तस्करीसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका सई कार्कीकै संलग्नता !

अवैध सुन पत्ता लगाउन गौशाला प्रहरी वृत्तको दुरुपयोग


असार ९ अर्थात् जुन २३, २०२२ बिहीबार । युएईबाट नेपाल आएको हिमालयन एयरलाइन्सबाट नेपाल आएका १ व्यक्ति सुनसहित समातिए । ती व्यक्ति हुन्–अजयकुमार रोका,  जो अन्य ५ साथीसहित नेपाल आएका थिए ।

कामदार भिषामा जान नसकेपछि टुरिष्ट भिषामा कामको खोजी गर्दै दुबै छिरेका रोक्कासहितका साथीहरु ६ महिना बस्दा पनि काम नपाएपछि नेपाल फर्कँदै थिए । रोकासहित अशोक नेपाली, चिज रोक्का, दिनेश थापा, अर्जुन थापा र सरोज बराल ९ असारमा नेपाल फर्किए ।

युएईमा काम नपाएपछि नेपाल फर्कने क्रममा यी ६ जनासँग माउण्ट इलेभेन ट्राभल सञ्चालनको नाममा दुबईबाट नेपाल सुन तस्कर गर्दै आएका ३३ किलो सुन काण्डमा पक्राउ परेका कृष्ण अग्रवालका साझेदार गुल्मी हर्मीचौरका ओम पाण्डेको भेट भयो । नेपाल फर्कनुअघि भेट भएका पाण्डेले ती ६ जनालाई करिब ५०/५० ग्रामको सुनको बाला लिएर गए राम्रो आम्दानी पनि हुने र टिकट पनि निःशुल्क हुने प्रलोभन देखाए ।

विमानस्थलबाट उक्त परिमाणको सुन लैजानु अवैध ठहर हुने निश्चित भएपनि पाण्डेले आफ्नो सेटिङ भएको जनाउँदै ६ जनालाई सुन जिम्मा लगाए । नेपाल फर्कनु पर्ने बाध्यता र केही रकम पनि पाइने लोभ भएपछि ६ जनाको समुह सुनको बालालगाएर नेपालका लागि उडे ।

९ गते बिहान विमानस्थलमा विमान अवतरण भएपछि बाहिर निस्कने क्रममा भन्सार चेकजाँच हुँदा ती मध्ये अजय विमानस्थलमा समातिए भने बाँकी ५ जनालाई बाहिर निकालियो । एउटै उडानमा एउटै परिमाणको सुन बोकेर आएकामध्ये ६ जनामध्ये १ जनामात्रै समातिनुमा ओमको सेटिङ सफलनै मान्नुपर्छ । पटक–पटक घुसखोरी र भ्रष्टाचारको आरोप लाग्दै आएको विमानस्थलमा पुनः अर्को सेटिङ नमूना प्रस्तुत भयो । समातिएका अजय भन्सार तिरेर छुटे ।

विमानस्थलबाट बाहिर निस्किइसकेपछि ५ जना अशोक, चिज, दिनेश, अर्जुन र सरोजले आफूहरु विदेश जाँदा ऋण लिएका चितवनका क्षेत्री थरका एक व्यक्तिलाई पैसा लिनका लागि विमानस्थलमै बोलाएर एउटा सुनको बाला ऋणबापत तिरिदिए र उनै क्षेत्रीको गाडीमा चढेर बसपार्क पुगेर आ–आप्mनो गन्तव्यमा लागे ।

त्यसपछि आफ्नो सुन बोकेर गएका व्यक्ति सम्पर्कमा नरहेपछि युएईबाट सुन पठाएका पाण्डेले आफू निकट प्रहरीलाई खटाएर अवैध हराएको सुनको अनुसन्धान सुरु गराए । त्यसकार्यमा गृहमन्त्री बालकृष्ण खाँणको सुरक्षार्थ पछुवा गाडीमा हिँड्ने प्रहरी नायब निरीक्षक (स.ई.) टंक कार्की खटिए । उनले गौशाला प्रहरी वृत्तको प्रयोग गरी सुन उठाउने नाममा अवैध अनुसन्धान गरी क्षेत्रीलाई नियन्त्रणमा लिए ।

क्षेत्रीलाई असार १६ गते प्रहरीले सोधपुछका लागि बोलाएर गौशाला प्रहरी वृत्त पुर्यायो । चौकीमा लगेर सोधपुछ गर्दै उनलाई अभद्र व्यवहारको मुद्दा चलाएर हिरासतमा राखियो । प्रहरीको नियन्त्रणमा परेका बेला क्षेत्रीको गाडीमा रहेको ४ लाख रुपैयाँ पनि बरामद गरेर प्रहरीले राखेको पनि क्षेत्रीले प्रहरी महानिरीक्षकको सचिवालयमा दिएको उजुरीमा उल्लेख गरेका छन् । उक्त उजुरीमा रकम बरामदसम्बन्धमा प्रहरीले कुनै मुचुल्का नठाएको पनि क्षेत्रीले बताए ।

कुनै पनि प्रहरी वा कार्यालयले कुनै व्यक्तिलाई नियन्त्रणमा लिँदाको बखत उसँग भएको नगद, जिन्सी वा अन्य कुनै सामाग्रीको मुचुल्का उठाउनुपर्ने नियम भएता पनि गौशाला वृत्तमा भने नगद चारलाख बरामद भएको कुनै मुचुल्का उठाइएको पाइएन ।

अभद्र मुद्दामा हिरासमतै रहँदा सई कार्कीले क्षेत्रीलाई विभिन्न धाक, धम्की दिन थाले । आफू हिरासतमै रहँदा सई कार्कीले क्षेत्रीकी आमा तारादेवी सिलवाललाई फोन गरी चेक लिएर आएर छोरालाई लैजानु भन्दै फोन गरे । त्यसपछि छोराको चेक लिएर आएकी आमा–छोरालाई धम्क्याएर जर्बजस्ती विभिन्न व्यक्तिको नाममा चेक काट्न बाध्य तुल्याएको जनाइएको छ । त्यसबखत सई कार्की र आकाश ठकुरीले कृष्ण प्रसाद भट्टराई, दिनेश आचार्य, युद्ध बहादुर घर्ती, आला बहादुर बम र नवराज हमालको नाममा क्षेत्रीको चेक काटेको जनाइएको छ । तर क्षेत्रीले भने ती व्यक्तिसँग कुनै कारोबार, व्यवहार, चिनजान र नातासम्बन्धसमेत नभएको दाबी गरिरहेका छन् ।

असार २७ गते क्षेत्री हिरासतमुक्त भइसकेपछि कार्की र ठकुरीले फोन गरेर क्षेत्रीलाई चेक बाउन्स मुद्दामा पुनः पक्रने विभिन्न डर, धाक, धम्की दिँदै आइरहेका छन् । चेक बाउन्स गरिसकेर क्षेत्रीलाई धम्क्याउँदै आएका कार्की र ठकुरीलाई प्रहरी कार्यालयमै जाउँ भन्दा उनीहरुले फोन काट्ने गरेको क्षेत्रीले दाबी गरेका छन् ।

अहिले उनै क्षेत्रीले देशकै विशिष्ट व्यक्तिको निकटमा रहेर काम गर्ने प्रहरी संगठनका व्यक्तिबाट आफू पीडित बनेको जनाउँदै प्रहरी महानिरीक्षकको सचिवालयमा न्याय पाउँ भन्दै उजुरी दिएका छन् ।

क्षेत्रीलाई झुठा मुद्दामा फसाउने भन्दै ब्ल्याकमेलिङ गरिरहेका र सुन तस्कर ओम पाण्डेको सुनको खोजीमा लागेका कार्कीको बारेमा अनुसन्धान सुरु गरिनुपर्ने देखिएको छ । साथै पाण्डेका व्यापारिक साझेदार भनिएका कृष्ण अग्रवाल यसअघि ३३ किलो सुन प्रकरणका मुख्य नाइके गोरे पनि पार्टनर रहेको पुष्टी भइसकेको छ । अग्रवाललाई ३३ किलो सुन प्रकरणमा प्रहरीले इन्टरपोलमार्फत् पक्राउ गरी नेपाल झिकाएको थियो । पाण्डेको सुन खोजीमा लागेका सई कार्कीले शक्तिको आडमा विभिन्न सुन तस्करलाई साथ दिँदै आएको पुष्टी हुन्छ ।

गल्फ देशहरुमा मजदुरी गरेर फर्कँदा ल्याएको टेलिभिजन र मोबाइलमा भन्सार लगाउने विमानस्थलले सेटिङमा सुन भित्र्याइरहँदा किन कसैको ध्यान जाँदैन ? एउटै विमानमा आएका ६ मध्ये कसरी ५ नेपाल भित्रिए अनि एक जनामात्र पक्राउ परे ? विमानस्थल प्रशासनले यसप्रति जवाफदेही हुनुपर्दैन ?

अनि, जिम्मेवार संगठनको एउटा कर्मचारीले सर्वसाधारण वा पीडितलाई अझै पीडा थप्ने कि सुरक्षाको अनुभूति दिलाउने ? एउटा छोरालाई हिरासतमा लिएर आमासँग बार्गेनिङ गर्ने प्रहरीको नियत कस्तो ? प्रहरी संगठनमा करिब १ महिनाअघि आफ्नै संगठनका कर्मचारीविरुद्ध परेको उजुरीको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउने दायित्व कस्को ? अनि सुन लिएर आएका भनिएका पहिचान भएका ५ व्यक्तिको अवस्था के छ ? के उनीहरु यस घटनामा दोषी छन् कि छैनन् ? के सुन व्यापारीसँग प्रहरीको सेटिङपछि उनीहरु निर्दोष हुन् ? भरियाका रुपमा प्रयोग भएका उनीहरु दोषी छैनन् ?

प्रतिक्रिया