एसपी र सिडियोकै मिलेमतोमा यसरी हुँदैछ अवैध उत्खनन (भिडियोसहित)

अवैध उत्खननमा प्रयोग भएका टिप्पर र स्काभेटर समन्वय समिति प्रमुखको नियन्त्रणमा


सिन्धुपाल्चोक – प्रहरी प्रशासनको मिलेमतोमा केही गिरोहले जिल्लाको झ्याडी खोलामा वर्षा याममै खुल्लम-खुल्ला रुपमा अवैध उत्खनन गर्दै आएका छन् ।

असार १ देखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खननका लागि कानुनी बन्देज रहे पनि चौतारा साँगाचोक गढी नगरपालिकास्थित १२ वडा अन्तर्गत बनदेउदेखी झ्याडी खोलासम्म अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् भएको पाईएको हो ।

जिल्लाका प्रहरी प्रमुख एसपी रामेश्वरप्रसाद यादव र प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालको मिलेमतोमा नै उत्खनन् कार्य भइरहेको जनाइएको छ ।

उक्त खोला छेउमा उत्खननका लागि ठेक्का पाएका ठेकेदार इन्द्रराज गिरीको समूहले अहिले पनि लगातार रुपमा अवैध उत्खनन् गर्दै आएको जनाइएको छ ।

ठेक्का सम्झौता गर्दा बर्षा याममा नदिमा मेशिनको प्रयोग गरी उत्खनन गर्न नपाइने प्रावधान रहँदा–रहँदै पनि प्रहरी प्रशासन, स्थानिय निकायका जनप्रतिनिधिका साथै केही स्वार्थसहितका व्यक्तिहरुसँगको मिलोमतोमा ठेकेदार ईन्द्रराज गिरीको समुहले रातको समयमा उक्त क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन गरिरहेको स्थानीयले जनाएका छन् । अवैध उत्खननका केही भिडियो र तस्वीरहरू अनलाइनन्यूज७ले प्राप्त गरेको छ ।

गिरीले केही स्थानीयको प्रयोग गरेर पाँच वटा मेशिनको सहायताले नदीको दोहन गर्दै आएका छन् । ठेकेदार गिरीको कालीसाँगा जेभि निर्माण कम्पनीले उक्त क्षेत्रमा निकासि कर उठाउने ठेक्का पाएको छ ।

 

उक्त ठेक्काको आडमा रमेश माझी, अमृत माझी, देवेन्द्र माझीलगायत स्थानीय माझीहरुलाई प्रयोग गरेर अवैध रुपमा एक महिनादेखि नदिको दोहन गर्दै आएका छन् । जसमा नेपाल प्रहरीका एसपी र जिल्ला प्रशासन कार्यालय प्रमुखले मोटो रकम असुलेको एक स्थानियले बताए ।

बनदेउ चौकिका बरिष्ठ सई यसके आर्चायले प्रतिगाडी बराबर एक हजार रुपैंयाँ आँफै बाटोमा बसेर उठाउने गरेका छन् । जुन रकम प्रहरी प्रमुख र प्रशासन कार्यालयमा पुग्ने दाबी समेत ती स्थानीयले गरे ।

यस बारेमा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले आफूले पनि उक्त कार्य हुँदै आएको खबर पाएको बताए । उनले अवैध उत्खननको सूचना पाएलगत्तै अनुगमनका लागि पुग्दा उत्खननमा प्रयोग भइरहेका एउटा स्काभेटर र दुईवटा टिपरलाई नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको बताए । श्रेष्ठले अवैध उत्खनन रोक्न पनि आफुले यथासक्य पहल गरिरहेको पनि बताए । उनले भने, ‘अवैध उत्खनन गरिएको सुनेपछि म नै गएर टिपर र स्काभेटर नियन्त्रणमा लिएको हुँ ।’ प्रहरी प्रशासनको कमजोरीको कारण यस्ता अवैध उत्खनन् बढेको पनि श्रेष्ठले दाबी गरे ।

नेपाल सरकारको कानुनअनुसार वर्षा याम अर्थात् प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न पाइँदैन ।

साथै ढुंगा, गिटी बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७७ को ७ (ग) मा कुनै नदीमा वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए) अनुसार उल्लेख गरिएको परिणाममा मात्रै उत्खनन् गर्न पाइने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया