६ उद्योगविरुद्ध मुद्दा दायर
दमौली – तनहुँस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले एक वर्षको अवधिमा छ वटा उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । गत आर्थिक वर्षमा अनुगमनका क्रममा कैफियत देखिएका तनहुँका तीन, गोरखाका दुई र नवलपुरका एक उद्योगविरुद्ध मुद्दा दायर गरिएको डिभिजन प्रमुख प्रशान्त पोख्रेलले जानकारी दिए ।
कार्यालयले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कृष्ण पाउरोटी उद्योग, भीमाद नगरपालिकास्थित अभिषेक बेकरी उद्योग तथा ग्लोबल एग्रो प्रोडक्ट्स, गोरखास्थित क्षितिज पुष्टकारी उद्योग तथा कुँवर एण्ड ब्रदर्श गु्रप र नवलपुरस्थित सरस्वती डेरी उद्योग विरुद्ध सम्बद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो । तीमध्ये कृष्ण पाउरोटीलाई पाँच हजार, अभिषेक बेकरीलाई सात हजार ५ सय, क्षितिज पुष्टकारीलाई रु एक हजार, ग्लोबल एग्रोलाई रु ३० हजार, सरस्वती डेरी उद्योगलाई तीन हजार जरिवाना गरिएको थियो ।
कुँवर एण्ड बद्रर्शको मुद्धाको भने निर्णय हुन बाँकी रहेको र अन्य २० वटा मुद्दा भने अनुसन्धानका क्रममा रहेको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए । कार्यालयले सोही अवधिमा खाद्य ऐन नियम बमोजिम १९० वटा खाद्यको नमूना सङ्कलन गरेर भैरहवास्थित प्रयोगशालामा परीक्षण गराएको थियो । दूध तथा दूग्ध पदार्थका छ, तेल तथा घिउजन्यका ३३, फलफूल तथा सागपातका २६, मसलाका १४, चिया तथा कफीका १४, नूनका दुई, खाद्यान्न, दलहन र सोसँग सम्बन्धित ४४, प्रशोधित पिउने पानीका १०, गुलियो पदार्थका १२, कन्फेक्सनरीका एक, मासु तथा मासुजन्यका एक, दानाका १३ र अन्य १३ नमूना सङ्कलन र परीक्षण गरिएको कार्यालयले जनाएको छ । कार्यालयले एक वर्षको अवधिमा खाद्य निरीक्षकको नेतृत्वमा १४५ वटा खाद्य तथा दाना बजार अनुगमन गरेको थियो ।
चाडपर्वका बेला मात्र नभइ अन्य समयमा पनि नियमित बजार अनुगमन गर्दै आएको कार्यालय प्रमुख पोख्रेलले बताए । तनहुँ, लमजुङ, गोरखा, मनाङ र नवलपुर कार्यक्षेत्र रहेको सो कार्यालयले अनुगमका साथसाथै खाद्य स्वच्छता र गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठी, वडास्तरमा सचेतना कार्यक्रम गर्दै आएको थियो भने होटलको वर्गीकरणको काम पनि गर्दै आएको थियो ।
कार्यालयले उपभोग्य मिति समाप्त भएका वा हुन लागेका खाद्य पदार्थ सञ्चय तथा बिक्री वितरण नगर्न, बढी रङ्गिन तथा सडेगलेका र झिङ्गा भन्केका फोहर अस्थामा राखिएका खाद्य पदार्थ प्रयोग नगर्न, सडक पेटिमा खुल्ला राखी कुनै पनि खाद्य पदार्थ बिक्री वितरण नगर्न सम्बन्धित सबैलाई सचेतना जगाउँदै आएको छ । कार्यालयले गत वर्ष चार पटक खाद्य उद्योगीका लागि स्वच्छता र गुणस्तर अभिवृद्धिसम्बन्धी गोष्ठी, दुई पटक स्थानीय तहका लागि खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गोष्ठी गर्नाका साथै सरोकारवालासँग अन्तक्र्रिया पनि गरेको जनाएको छ ।