सम्पादकीय : पत्रकार ‘सत्याग्रह’को हरियो कथा


विदेशी मिडियाहरु आर्थिक रुपमा टाट पल्टेपछि बन्द गर्ने निर्णयमा पुग्नुअघि आफ्ना कर्मचारी र पत्रकारलाई अर्को ५ बर्षको पारिश्रमिक र क्षतिपूर्ति दिने तहसम्मको अवस्थामा हुन्छन् । नेपालको मिडियाको सन्दर्भमा भने सतहमा नै देखिएका पत्रकारका विविध आग्रहले स्पष्ट पार्छ । आफ्ना कर्मचारी, श्रमजीविहरू पैसो पाइएन भनेर आन्दोलनमा हुन्छन् हाकिमहरू मालिकका अघि चुँसम्म गर्ने नियतीमा हुँदैनन् । मालिक र हाकिमसको करार सम्झौताको सर्त श्रमजीविलाई पत्तो हुँदैन, त्यहाँ कुनै हरियो कथा हुनसक्छ । यद्यपि, श्रम भनेको मूल्यवान हुन्छ भन्ने चिजलाई नजरअन्दाज गर्न मिल्दैन । न शास्त्रले गरेको छ न आधुनिक दुनियाँमा श्रम अधिकार, मानवअधिकारले गरेको छ । यस मानेमा आजको पत्रकारिता पेशा निक्कै जोखिमपूर्ण भन्ने सन्देश गएको छ, केही मिडिया मालिकका कारण ।

ठूला अक्षरमा गोविन्द केसीहरूको सत्याग्रहका निम्ति समाचार कोर्ने र समूह बनाएर विज्ञप्ति जारी गर्ने नामहरू ‘ब्रान्ड’ हुन् । तर तिनै ब्रान्डले लगेका श्रमजीवि ढोकैमा अनशन (सत्याग्रह) बस्नुपर्ने नियतीपछि मात्रै श्रमका निम्ति सम्झौता हुन्छ भने तिनले समाजको सत्य मागलाई कसरी सम्बन्धित निकायमा सोध्लान् ? हाकिमले कसरी सम्पादन गर्लान् भन्ने व्यवाहारिक प्रश्नले घोच्नुपर्ने हो । मिडियाकर्मीलाई यो छेस्कोले घोचीरहन्छ, सँधैभरी । महामारीका नाममा कतिपयलाई कामबाट निकाल्ने, अघोषित निषेधाज्ञा पनि गरिएका विवरण सुनिएका, देखिएका हुन् । पत्रकारिता त्यतिमात्र होइन, यो पेशा त्यत्तिमा मात्रै नीहित हुन सक्तैन, बनाउनु हुँदैन भन्ने मतको साक्षी बन्नुपर्छ । 

ठूला र ठालू कुरा होइन, सिधा प्रश्न केन्द्रित अध्याय सुरु हुनेछ, अब । पत्रकारको पहिलो धर्म भनेको सत्याग्रह लेख्नु हो, आफ्नो न्यायका लागि सत्याग्रह बस्नु होइन । पत्रकार आफैं न्यायमा छैन भने उसले न्यायको वकालत गर्न सक्तैन, प्रभावको शिकार हुनेछ । यसर्थ सतहमा रहेका कतिपय दृश्यहरू अझै नेपथ्यमा पनि छन् । यी चित्र र चरित्रको मझेरीमा पत्रकार रह्यो भने सन्तुलित समाजका निम्ति समाचारीय योगदान कसरी सम्भव हुनेछ ? यो प्रश्न लोकलाई छाड्दै हाम्रो प्रश्न हर अन्याय गर्नेका निम्ति झटारो बनेर उठ्नेछ । अनलाइनन्युज सेभेनको सम्पादकीय नीति, टोली र जनउत्तरदायीत्व यस्ता प्रश्नहरूसँग सजग हुँदै डिजिटल माध्यममा जन–जनसम्म पुग्ने अपेक्षा छ ।  

प्रतिक्रिया