आगामी शैक्षिक सत्रदेखि विद्यालयस्तरमा यौनिक अल्पसंख्यकबारे पनि पढाइ हुने


काठमाडौं- पाठ्यक्रम विकास केन्द्रले अर्को शैक्षिक सत्रदेखि लागु हुने पाठ्यक्रममा तीन वर्गको लैङ्गिक पहिचानलाई समावेश गर्ने तयारी गरेको छ। नयाँ पाठ्यक्रममा पुरुष, महिला र समयौनिक व्यक्तिबारे अध्यापन हुने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ।

कक्षा ७ को स्वास्थ्य तथा शारीरिक शिक्षामा ‘नेपालमा हाल महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रोलिंगी) गरी तीन वर्गको लैङ्गिक पहिचानलाई मान्यता दिइएको’ भन्ने विषय पाठ्क्रममा उल्लेख छ।

विद्यार्थीले यौनिक अभिमुखीकरणको परिचय दिन सक्नेगरी आधारभूतदेखि माध्यमिक तहसम्म यो विषय अध्ययन गराउन लागिएको केन्द्रले जनाएको छ। पाठ्यक्रमअनुसार लैङ्गिक पहिचान तथा यौनिक अभिमुखीकरणको परिचयमा महिला भएर महिलाप्रति नै र पुरुष भएर पुरुषप्रति नै भावनात्मक रूपले आकर्षित हुने र पुरुष पुरुषसँगै महिला महिलासँगै प्रेम तथा यौन सम्बन्ध राख्नेलाई समलिङ्गी चनेर परिभाषित गरिएको छ।

कुनै पनि व्यक्ति जो महिला तथा पुरुष दुवैप्रति भावनात्मक रूपले आकर्षित हुन्छ र दुबैसँग यौन सम्बन्ध राख्नेलाई दुईलिंगी वा दोहोरो यौनिकता भनेर बुझाइएको छ। जन्मँदा शारीरिक रूपमा महिला वा पुरुष भए पनि आफ्नो शारीरिक लिङ्गभन्दा विपरित व्यवहार गर्ने व्यक्तिलाई ‘देहान्तर’को नामबाट परिभाषित गरिएको छ।

एलजीबीटीआईक्यू सम्बन्धी भिडियो वा एलजीबीटीआईको पूरा रूप बताउँदै यौनिक परिचय र यसका प्रकारबारे पनि पर्याप्त ज्ञान हुनेगरी पाठ्यक्रममा विषयवस्तु समेटिने केन्द्रले जनाएको छ।

प्रतिक्रिया