‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ पुस्तक बजारमा


काठमाडौं – नेपालमा इन्जिनियरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएको प्रा.डा. भोला थापाद्वारा लिखित ‘इन्जिनियर अफ इन्जिनियरिङ एजुकेसन’ अंग्रेजी पुस्तक बजारमा आएको छ । काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा.डा. थापाले नर्वेली प्राध्यापक डा. इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखेको यस पुस्तकमा काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रमको प्रारम्भदेखि अहिलेसम्म विकासलाई समेटिएको छ ।

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा.सुरेशराज शर्माले पुस्तक ऐतिहासिक रहेको जनाउँदै प्रायः इन्जिनियरिङ र मेडिसिन विषय पढ्नेहरू अध्यापन पेसाभन्दा विकासका अन्य फाँटहरूतिर जान चाहनेक्रम विकासोन्मुख देशहरूमा मात्र नभइ अन्यत्र पनि भएको उल्लेख गरेका छन् ।

‘आफ्नो योग्यताको सही प्रयोग र आर्थिक लाभ पनि विकासका फाँटहरूतिरै हुन्छ भन्ने अवधारणा विश्वका धेरै देशहरूमा पाइन्छ । नेपालमा पनि त्यस्तै, अवधारणा रहेको अवस्था थियो । सेवा गर्दा शिक्षण पेसामा आफ्नै दोस्रो तहकको विकल्प मात्र हुन्थ्यो ।’ डा. शर्माले भने । उनले पुस्तकमा नर्वेमा आफ्नो विधामा इन्जिनियरिङ शिक्षालाई शिखरसम्म पु¥याएका प्रा. इन्गे योहान्सनलाई नेपाल ल्याइ काठमाडौं विश्वविद्यालयलाई सघाएको र मार्गदर्शन गरेको योगदानको सेरोफेरो थापाको यस पुस्तकको वृत्तान्तमा रहेको जनाएका छन् ।

‘थापाले काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ कार्यक्रमको ऐतिहासिक विकासक्रमलाई प्रस्ट्याउने यस्तो महत्वपूर्ण पुस्तक लेख्नुभएकोमा यो संस्था गौरवान्वित हुनुपर्ने देख्तछु ।’ उनले भने । डा. सीताराम अधिकारीले नेपालको इन्जिनियरिङ शिक्षाको संक्षिप्त ऐतिहासिक झलक यस पुस्तकमा पढ्न पाइएको बताए । ‘काठमाडौं विश्वविद्यालयका बारेमा अनुसन्धान गर्न चाहनेहरूका लागि अर्को कडी र महत्वपूर्ण दस्तावेज बनेको छ ।’ अधिकारीले भने ।

काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्टार प्रा.डा.भद्रमान तुलाधरले पुस्तकमा काठमाडौं विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको सुरुवात्, विकास, विस्तार, सुदृढीकरणको इतिहास र यसमा अहम् भूमिका खेलेका संस्थापकहरु, शिक्षकहरु र इन्जिनियरहरुको बारेमा चर्चा गरिएको बताए । ‘साथै नर्वेको सहयोग प्राप्त गर्न अथक योगदान दिने प्रा.डा. इन्गे योहान्सनबारे अभिलेखका रुपमा प्रस्तुत गर्न प्रा.डा. भोला थापाको प्रयासको प्रतीक हो ।’ तुलाधरले भने ।

पुस्तकमा डा.थापाले नेपालको इन्जिनियरिङ क्षेत्रको विकासको सन्दर्भलाई सान्दर्भिक ढंगले उठान गरेको सिन्टेफ इनर्जीका भाइस प्रेसिडेन्ट पिटर स्टोइयाले उल्लेख गरेका छन् ।
पुस्तकले इन्जिनियरिङ शिक्षालाई बुझ्न र नेपालमा यसको महत्व उजागर गर्न सफल हुने आशा राखेको प्रकाशक समा थापाले बताइन् । उनले पुस्तकमा काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ विषयको सुरुवात् र त्यसले नेपालमै पारेको प्रभावलाई उधिनेको विचार व्यक्त गरिन् ।

प्रतिक्रिया