४२ वर्षको उमेरमा स्कुले झोला बोकेर कक्षामा फर्किइन् तिलमाया


गोरखा — “पढाइको उमेर हुँदैन” भन्ने भनाइलाई चरितार्थ बनाउँदै गोरखाको गण्डकी गाउँपालिका–२ दलभञ्जयाङकी ४२ वर्षीया तिलमाया थापामगर फेरि विद्यालयको पाठशालामा फर्किएकी छन्। विवाहपछि अधुरो रहँदै गएको पढाइलाई पूरा गर्ने संकल्पसहित उनी हाल गण्डकी गाउँपालिका–६ स्थित तोमनडाँडा माविमा कक्षा ८ मा भर्ना भएकी हुन्।

विद्यालयमै पुगेर गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले उनलाई स्वागत गरेका थिए। तिलमायाले कक्षा ७ सम्म पढेकी थिइन् तर विवाह भएपछि शिक्षामा विराम लागेको थियो। पारिवारिक जिम्मेवारीले थिचिएपछि अध्ययन टाढिएको तिलमाया अहिले आफ्ना दुई छोरालाई स्नातक पढाइमा देखेर झनै उत्साहित भएकी हुन्।

विद्यालयका प्रधानाध्यापक भीमलाल प्रजाका अनुसार तिलमायाको भर्ना प्रेरणादायी छ। “उमेरले हैन, चाहनाले पढिन्छ भन्ने उदाहरण हुन् उनी,” प्रजाले भने, “उहाँ आफैं आएर ‘पढ्न मन लागेको छ, भर्ना गरिदिनुहोस्’ भन्नुभयो।”

नयाँ उमेरको उत्साह र अधुरो सपना पूरा गर्ने लक्ष्यसहित अब फेरि कापीकलम लिएर तिलमाया विद्यालय जाने भएकी छन् ।

प्रतिक्रिया