

७३ वर्षमा पनि पढाइको मोह, सूर्यवती खनाल कक्षा १२ को परिक्षामा सहभागी

काठमाडौं- देशभर कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ भने यो वर्षको परीक्षा एक प्रेरणादायी पात्रका रूपमा परिचित भएकी ७३ वर्षीय सूर्यवती खनालका लागि विशेष बनेको छ।
तारकेश्वर–१० मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलमा परीक्षा दिइरहेकी सूर्यवती खनालले उमेरले कहिल्यै पढ्नका लागि बाधा नहुने सन्देश दिएकी छन्। विसं २००९ साउन ९ गते जन्मिएकी उनी अहिले तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत छिन्।
चार सन्तानकी आमा र तीन नातिनातिनाकी हजुरआमा खनालले सन्तान हुर्किएपछि आफ्नो अधुरो सपनालाई पूरा गर्ने निर्णय लिएकी हुन्। उनले यसअघि चेतना महिला माध्यामिक विद्यालयबाट एसइई परीक्षा उत्तीर्ण गरेकी थिइन्। उनका श्रीमान एक विद्यालयमा शिक्षक हुन्, जसले उनलाई अध्ययनमा सघाउँदै आएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार, यस वर्ष कक्षा १२ मा पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका छन्। काठमाडौँ जिल्लाबाट सबैभन्दा धेरै ६८ हजार १३३ जना सहभागी छन् भने मनाङबाट सबैभन्दा कम ४५ जना सहभागी भएका छन्।
देशभर एक हजार ५९० परीक्षा केन्द्र र जापानमा एक केन्द्रको व्यवस्था गरिएको छ। पहिलो दिनको परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

