

नेपाल लाइफ इन्स्योरेन्सद्वारा त्रिवि शिक्षण अस्पताललाई १०० वटा ह्वील चियर हस्तान्तरण

काठमाडाैं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ह्वील चियर हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जलाई १०० वटा ह्वील चियर हस्तान्तरण गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेले सम्झौतापत्रमा हस्ताक्षर गरी ह्वील चियर हस्तान्तरण गरिएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्वील चियर प्रदान गर्न पाउनु आफैँमा गर्वको विषय भएको बताए । नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी भएको नाताले हाम्रो समाजप्रति पनि ठूलै दायित्व रहेको बताए ।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेले बिरामी अस्पताल आउँदादेखि नै ह्वील चेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकताअनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरे ।

