दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाकाे रोमाञ्चक जित


काठमाडौं-  आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा रोमाञ्चक जित दर्ता गरेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आज भएको खेल अत्यन्तै नजिकको रह्यो। पहिलो सुपर ओभरमा दुवै टोलीले १७–१७ रन बनाउँदा खेल बराबरीमा पुगेको थियो।

तर दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रन बनायो। जवाफी लक्ष्य पछ्याएको अफगानिस्तान १९ रनमै अलआउट भयो र दक्षिण अफ्रिकाले जित हात पारेको हो।

दक्षिण अफ्रिका र अफगानिस्तानबीचको यो जितसँगै दक्षिण अफ्रिकाको अफगानिस्तानमाथिको शानदार रेकर्ड जारी रह्यो। यसअघि २०१०, २०१६ र २०२४ का विश्वकपमा खेलेका तीनै खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो। अफगानिस्तानले अहिलेसम्म दक्षिण अफ्रिकामाथि जीत हात पारेको छैन।

यस हारसँगै अफगानिस्तानको सुपर ८ यात्रामा चुनौती थपिएको छ। अघिल्लो खेलमा अफगानिस्तान न्युजिल्याण्डसँग पराजित भएको थियो।

खेलमा दुवै टोलीले निर्धारित २० ओभरमा समान १८७ रन बनाउँदा टाई भयो। टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८७ रन बनाएको थियो। टोलीका लागि रायन रिकलटनले २८ बलमा ६१ रन र ओपनर क्विन्टन डि ककले ४१ बलमा ५९ रनको महत्वपूर्ण योगदान दिएका थिए।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले घातक बलिङ गर्दै ३ विकेट लिए भने कप्तान राशिद खानले २ विकेट झारे।

१८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले अन्तिम ओभरसम्म कडा टक्कर दिएको थियो। अन्तिम केही ओभरमा जितका लागि प्रति ओभर ११ रन आवश्यक भएपछि अफगानिस्तानको जीतको सम्भावना एक समय ९० प्रतिशतसम्म पुगेको थियो। तर अन्तिम ओभरको चौथो बलमा अन्तिम विकेट खस्दा अफगानिस्तान १८७ रनमै अलआउट भयो र खेल सुपर ओभरमा पुगेको थियो।

 

प्रतिक्रिया